डाेटी, असाेज- २०,
साेमबार राति परेको भारी वर्षा र असिनाका कारण डाेटीका विभिन्न ठाउँमा भित्र्याउँदै गरेका धानबाली, फलफुल र तरकारी खेतीमा ठुलाे क्षति भएकाे छ ।


डोटीको शिखर नगरपालिका-५, तिजालीमा परेको असिनापानीले धानबालीसँगै तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पुर्याएको छ । पाक्न लागेको धान असिनाले झार्नुका साथै तरकारीका बोटबिरुवा र फलफूलमा समेत क्षति पुगेको किसानहरूले बताएका छन् ।
तिजालीका किसान दलबहादुर बोहराले वर्षभरि मेहनत गरेर हुर्काएको धान भित्र्याउँने बेलामा असिनाले खेतमै झार्दा ठूलो नोक्सानी भएको बताए । ‘पाक्न लागेको धान असिनाले झारिदियो, यस वर्ष उत्पादन निकै घट्ने भयो,’ बाेहराले भने ।

त्यस्तै, तरकारी तथा फलफूल खेती गर्दै आएका जितेन्द्र सिंहले असिनापानीले तरकारीका बोटबिरुवा भाँचिनुका साथै फलफूल झरेर ठूलो क्षति भएको बताए । ‘मेहनत र लगानी गरेर हुर्काएको तरकारी तथा फलफूल असिनाले नष्ट गरिदियो,’ उनले भने ।
साे ठाउँमा मात्र नभइ जिल्लाका अन्य ठाउँमा समेत असिनाले धानबालीमा ठूलो क्षति पुर्याएको छ । कतिपय ठाउँमा धान खेतमै झरेर नष्ट भएको बताइएको छ ।
धानबाली भित्र्याउने समयमा असिनाले खेतमै झारिदिएपछि किसानहरू चिन्तित बनेका छन् ।
किसानहरूले असिनापानीबाट भएको क्षतिको स्थलगत अनुगमन गरी राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समेत माग गरेका छन् ।









