डाेटी, असोज- १४,
जिल्ला अस्पताल डोटीमा कार्यरत अहेव प्रेमबहादुर बोगटी मृत फेला परेका छन् ।
डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका- ६ पलाडी घर भई हाल जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले दिएको जानकारी अनुसार आज बिहान करिब १०ः३५ बजे अस्पतालमा कार्यरत कर्मचारीले उनलाई शौचालयमा बेहोस अवस्थामा फेला पारेका थिए ।
तत्काल उपचारका लागि उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको थियो । चिकित्सकले चेकजाँच गर्ने क्रममा बिहान १०ः५५ बजे बोगटीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनि बिहान अस्पतालको इमर्जेन्सी फाँटमा ड्युटीमै थिए । बिहान डेढ घण्टा डिउटि गरेर शौचालय गएका उनी लामो समय फिर्ता नआए पछि कर्मचारीले खोज्दा उनलाई शौचालयमा बेहोस अवस्थामा फेला परेका प्रहरी जनाएको छ ।
बोगटी झन्डै ६ वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत रहेको र उनी प्रेसरको औषधि सेवन गर्दै आएका बुझिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन काफ्लेले जानकारी दिए ।
घटनाको थप विवरण तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









