डाेटी, बैशाख- १२,
डाेटीकाे सदरमुकाम सिलगढीमा शैलेश्वरी याेग साधना केन्द्र स्थापना भएकाे छ ।
पतञ्जली याेग समिति डाेटीले शनिबार आयाेजना गरेकाे एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले केन्द्रको उद्घाटन गरेका हुन् ।


जिल्ला समन्वय समितिको सभाहलमा शैलेश्वरी याेग साधना केन्द्र स्थापना गरिएकाे हाे । सभाहलमा नियमित याेग साधना हुने भएकाले साे ठाउँमा केन्द्र स्थापना गरिएकाे हाे ।
केन्द्रकाे उद्घाटन कार्यक्रममा बाेल्दै समन्वय समितिका प्रमुख सिंहले याेगकाे माध्यमबाट समाज रूपान्तरण गर्नु आवश्यक रहेकाले निरन्तर याेग, ध्यान गराैं र पतञ्जली याेग समितिले जिल्लाव्यापी याेग फैलाउनु पर्ने बताए । सिंहले मानसिक स्वास्थ रहन, संस्कार बन्न, याेग गर्नु अतिआवश्यक रहेकाे बताउँदै खानपिनमा समेत सन्तुलन मिलाउनु पर्ने र अर्गानिक खानेकुरामा जाेड गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा बाेल्दै याेग साधक एवं हरिद्वारमा याेगमा स्नातकोत्तर गरिरहेका केशवराज भट्टले याेगले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक विकास हुनमा महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले नियमित याेग गर्न आग्रह गरे ।
पतञ्जली याेग समिति डाेटीका अध्यक्ष गणेश मलासीले याेगबाट हुने फाइदाका विषयमा थाहा हुँदाहुँदै पनि इच्छाशक्ति नभएर लापरबाही गरिरहेका बताए । उनले सबैलाई नियमित याेग गर्न समेत आग्रह गरे ।

नियमित याेग साधनाकाे लागि सिलगढीकाे शैलेश्वरी मन्दिर परिसर, नाचञ्थली क्षेत्र, ईन्द्रचाेक क्षेत्रमा समेत निकट भविष्यमै याेग साधना केन्द्रहरू स्थापना गरिने अध्यक्ष मलासीले जानकारी दिए ।









