बिक्रम खड्का
डाेटी/दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा स्थित लडागडा स्वास्थ्य चाैकीमा प्रयाेगशाला सेवा (Labratory service) काे नगर प्रमुख बाजी सिंह खड्का ‘बिजय’ले उद्घाटन गरेका छन् ।
दिपायल सिलगढी नगरपालिका, गुडनाइवर्स ईन्टरनेसशनल नेपाल र सामुदायिक विकास केन्द्र डाेटीकाे आर्थिक सहयोगमा प्रयाेगशाला सामाग्री स्वास्थ्य चाैकीमा व्यावस्थापन गरी शुक्रबार एक औपचारीक कार्यक्रमका बीच उक्त प्रयोगशाला सेवाकाे उद्घाटन गरिएकाे हाे ।

नगर प्रमुख खड्काले कार्यक्रमा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै हामिले जनता प्रति उत्तरदायी भएर काम गर्नुपर्ने र विकटता भएका बस्तीहरूलाई मध्यनजर गरेर काम गर्नुपर्ने बताए । याे कार्य त्यसैकाे निरन्तरता रहेकाे समेत उनले बताए ।

याे सेवाले यहाँका जनसमुदायले सहज तरिकाले सेवा पाउने र अन्दाजकाे भरमा उपचार गर्नु पर्ने बाध्यताकाे अन्त्य भइ सामान्य राेगहरु पत्ता लगायर सहज र सरल तरिकाले उपचार पाउनेमा विश्वस्त रहेकाे खड्काले बताए । याे सेवालाई प्रभावकारी र दिगाेपनाकाे लागि नगरपालिका निरन्तर रुपमा लागि रहने समेत नगर प्रमुख खड्काकाे जाेड रहेकाे थियो ।
यस्तै दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले नेपाल सरकारकाे निति अनुरुप वडामा नमुना स्वास्थ्यचाैकी विभिन्न सेवा भित्र पर्दछ र ल्यावकाे दरवन्दी पालिकाकाे विकट वस्तिबाट सुरु गर्नु पर्ने भएकाले साेहि अनुसार हामिले याे सेवा सुरु गरेका हाै, याे सेवाबाट निर्धक्कसँग सेवा लिन सम्पुर्णमा आग्रह गरेका थिए ।
स्वास्थ्य चाैकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष दशरथ बलायरकाे सभा अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नगर उप प्रमुख कलावती महर ‘साउद’ जिल्ला समन्वय समिति सदस्य राम बहादुर खड्का, कार्यपालिका सदस्य पार्वती पार्कि, वडा सदस्यहरु, साझेदार संस्थाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय लडागडाका प्रतिनिधि, बिभिन्न पार्टी प्रतिनिधि, शिक्षक, समाजसेवि, महिला स्वास्थ्य स्वयं सेविका लगायतकाे उपस्थिति रहेको थियो ।









