डोटी, साउन २८,
सुदूरपश्चिम प्रदेशमै सबै भन्दा लामो अबधिको तिर्थ यात्रा मानिने बडीमालिका तिर्थ यात्रा बिहिबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ । बाजुरा जिल्लामा अबस्थित बडीमालिका भगवतीको पुजाआजा गर्नका लागी डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि सरकारी टोलीलाई विदाई गरिएको छ ।


बाजुरा जिल्लामा रहेको बडीमालिकामा श्रावण शुक्ल चतुर्दशीका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पुजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ । सरकारी कर्मचारीहरुको एक टोलिले नै उक्त पेटारो लैजाने गर्दछन् । वि.सं. १८४७ मा अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि डोटी गौडाको तर्फबाट बडीमालिकामा पेटारो पठाउने प्रचलन सुरु भएको थियो । नेपाल एकिकरण पूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पुजा पठाउने चलन रहेको भए पनि पछिल्ला सयम नेपालमा राज्य संचालन गर्ने शाह बंशिय राजा, राणाकालिन अबस्थाका बढा हाकिम तथा हालका सरकारहरुले समेत पुजा सामग्री पठाउने चलन रहेको छ ।

‘जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रीक विधिले पुजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई विदाई गरिन्छ’, शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले भने, ‘ठाउँ–ठाउँमा बास बसी १५ दिन पछि पेटारो बडीमालिका पुग्ने गर्दछ ।’ भगवतीका सात बहिनी मध्येमा कान्छी बहिनी मानिने बडीमालिका भगवतीको रथयात्रालाई जिल्ला प्रशासनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीले सलामी सहित टोलीलाई विदाई गर्ने चलन रहेको छ ।

सरकारी टोलीलाई गन्तव्य सम्म पुग्नका लागी अछाम, बाजुरा जिल्लाको सुरक्षा समिति संग कुरा भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाईएको प्रशासन कार्यालयले जनाएको छ । सरकारी टोली भदौ ११ गते मालिकामा सम्पन्न हुने विशेष पुजामा सरिक हुनेछ । धार्मिक तथा प्राकृतिक महत्वको पर्यटकिय क्षेत्र बडीमालिकालाई ठुलो शक्तिपीठका रुपमा हेर्ने गरिन्छ ।









