गणेश मौनी/डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ दुर्गामाण्डौं स्वास्थ्य चौकी वायलमा कार्यरत एमबिबिएस डा. ईन्द्र माझीले समुदायमा गुणस्तरीय सेवा प्रवाह गर्न निरन्तर लागिरहेकाे बताएका छन् ।
केआईसिंह गाउँपालिका वडा नम्बर २ नारी गाउँमा जन्मेका डा. माझीले डाक्टर पढ्ने समय देखि नै आफ्नो गाउँघरमा रहेका दाजु, भाई, दिदी, बहीनी, आमाहरुको सेवा गर्ने ठुलो रहर थियो उक्त सपना अहिले बिस्तारै पुरा हुदै गएको बताए । आफ्नै गाउँठाउँमा सेवा गर्न पाउँदा आफु भाग्यमानी हुनुका साथै गाउँघरमा सेवा गर्ने सपना पुरा भईरहेको उनले बताए ।

उनले भने ‘यसरी डाक्टर पढेर आफ्नै गाउँघरको सेवा गर्न पाउँने डाक्टर धेरै कम हुन्छन आफ्नै गाउँघरको सेवा गर्न पाएकोमा म भाग्यमानी छु ।’ एमबिबिएस पढाई सम्पन्न गरे लगत्तै केही वर्ष काठमाण्डौंमा रहेको हिमाल अस्पतालमा काम गरेका डाक्टर माझीले काठमाण्डौंमा र डोटीमा काम गर्दाको केही फरक अनुभव सुनाए ।
काठमाण्डौंमा सेवा लिन आउने सेवाग्राहीहरुको सेवासंग मात्र सम्बन्ध हुने गथ्यो तर डोटीमा सेवाग्राहीको सेवाका साथ साथै सम्मानजनक ब्यवहार, कदर अपनत्व र प्रगाढ माया पाएको छु । सुरुसुरुमा स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीहरु खुलेर बोल्न चाहान्नथे तर अहिले आफ्नै छोरा छोरी जस्तै सम्झेर ढुक्क तरिकाले आफ्ना समस्या राख्ने गरेको समेत उनले बताए ।
गाउँघरको स्वास्थ्य संस्था भएकाले पनि सबै प्रकारका सेवाहरु लिन सेवाग्राहीहरु आउने गरेको डा. माझीले बताए । प्राय हाडजोर्नी दुखाई, रुघा खोकी, महिला सम्बन्धी, बालबालिका सम्बन्धीका समस्या ल्याएर बढी आउने गगरेकाे उनले बताए ।
दुर्गामाण्डौं स्वास्थ्य चौकी वायलबाट अहिले भिडीयो एक्सरे, ल्याप सेवा र अन्य सामान्य सबै प्रकारका सेवाहरु प्रबाह हुने गरेको र केही समय पछि एक्सरे सेवा सुचारु भईरहेको समेत स्वास्थ्य चौकीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा रहेको सुजङ बोर्डिङ स्कुलबाट उच्च माध्यामीक शिक्षा हासिल गरेका डा. माझीले फिलिपीन्सबाट सन् २०१९ मा एमबिबिएसको पढाई सम्पन्न गरेका थिए । पढाई सम्पन्न पश्चात करिब तिन बर्ष सम्म काठमाण्डाैंमा रहेको हिमाल हस्पतालमा काम गरेका डा.माझीले २०७९ असोज महिनाबाट केआईसिंह पालिकामा काम गर्दै आईरहेका पालिकाले जनाएको छ ।
कोभिड संक्रमणको उच्च जोखिमको समय आर्थिक वर्ष २०७७।०७८ मा सरकारले प्रत्येक पालिकामा कोभिड अस्पतालको लागि एक जना एमबिबिएस डाक्टर, स्टाप नर्स लगाएतका कर्मचारी ब्यवस्थापनको लागि आवश्यक बजेटको ब्यवस्था गरेको थियो । सो अबधीमा डोटीका सबै पालिकाले एमबिबिएस डाक्टर नियुक्त गरि कोभिड अस्पतालबाट कोभिड सम्बन्धीका सेवाका साथै अन्य सबै सेवा प्रबाह गरेका थिए ।
कोभिडको जोखीम न्यून भएसंगै सरकारले उक्त रकम २ वर्षको लागि मात्र निरन्तरता दिई कटौती गर्दा डोटीका अधिकांश पालिकाहरुले आफ्नो श्रोतबाट एमबिबिएस डाक्टरलाई निरन्तरता दिएको पाईन्छ । स्थानिय सरकारले ब्यवस्थापन गर्ने गरी हाल डोटीको पुर्विचौकी गाउँपालिका र शिखर नगरपालिका बाहेकका सबै स्थानिय तहहरुमा एमबिबिएस डाक्टर कार्यरत रहेका छन् ।









