सिलेट समाचार,
डोटी : मिस नेपाल नर्थ अमेरिका २०२२ की विजेता प्रत्युशा बोहोराले डोटीको एक विद्यालयलाई शैक्षिक उपकरण सहयोग गरेकी छिन् ।


उनले डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा आधारभुत विद्यालयलाई शैक्षिक उपकरण सहयोग गरेकी हुन् । उनले विद्यालयलाई कम्प्यूटर ल्यावका लागि १० थान कम्प्यूटर, १० ओटा टेबल, १० कुर्सी, एउटा प्रिन्टरसहितको फोटोकपि मेसिन, ल्याव कोठामा लगाउन पर्दा, कार्पेट आदि सहयोग गरिएको बताइन् ।

विद्यालयमा ल्यावका लागि करिब ७ लाख बराबरको सामानहरु सहयोग गरिएको उनले बताइन् । बोहोराका अनुसार अमेरिकामा रहेका ३५ जना नेपालीहरुले रकम सहयोग गरेका हुन् । सुदूरपश्चिमका दुर्गम क्षेत्रमा रहेका अन्य विद्यालयहरुमा पनि शैक्षिक उपकरण सहयोग गर्ने योजना रहेको उनले बताइन् । अमेरिकामै आफ्नो बसाइ रहेको बताउँदै उनले यही कामका लागि मात्र नेपाल आएको बताइन् ।
काठमाडौँको कोटेश्वर घर भएकी उनले आफूहरु पहिला धनगढीमा पनि बसेको बताइन् ।









