धनबहादुर बोहरा
डोटी : डोटीमा एक सय ७७ वटा स्थायी मतदान केन्द्रहरु रहेका छन् भने एउटा अस्थायी मतदान केन्द्र रहेको छ । जसमा दुईवटा मतदान केन्द्र महिलामैत्री रहेका छन् ।
डोटी सदरमुकाम स्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिबलाल पाण्डेयले जानकारी दिएका छन् ।

महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन् । त्यसैगरी सुरक्षाकर्मी समेत महिलानै खटिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जनानै रहेका छन् ।
त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।
कुल निर्वाचनमा खटिएका कर्मचारीहरुमा एक हजार चार जना कर्मचारीहरुबाट र चार सय १० जना शिक्षकहरु रहेका छन् ।
निर्वाचन कर्मचारी तथा सामग्री धमाधम पठाईंदै
अधिकांश निर्वाचन केन्द्रहरुमा निर्वाचन कर्मचारी तथा निर्वाचन सामग्री पठाइसकिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । मंगलबारसम्म सबै निर्वाचन केन्द्रहरुमा कर्मचारी तथा सामग्री पठाइसक्ने बताइएको छ ।
निर्वाचन सामग्रीसंगै मतपत्र समेत पठाइसकिएको जानाइएको छ । नजिकका मतदान केन्द्रहरुमा भोलिनै निर्वाचन सामग्री पठाइने बताइएको छ ।









