डोटी/डोटीको गठबन्धन जतिखेर पनि टुटाउन सक्ने नेपाली कांग्रेसका सभापति तथा डोटी प्रदेश सभा ‘क’ का प्रत्यक्षका उम्मेदवार नरेन्द्रबहादुर सिंहले बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन मुल समिति तथा प्रचार प्रसार उपसमिति शिखर नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सिंहले उक्त चेतावनी दिएका हुन् ।
नेकपा माओबादी केन्द्र तथा नेकपा एकिकृत समाजबादी पार्टीलाई लक्षित गदै उक्त चेतावनी दिएका हुन् । माओबादी र एकिकृत समाजबादीले कुनै पनि रणनीतिक बैठक बस्दा वा अन्य कुनै कार्यक्रम गर्दा एकल नगरेर कांग्रेस हित गठबन्धनका सबै दलहरुलाई पनि सहभागि गराएर मात्रै कार्यक्रम गर्न सिंहले आग्रह गरे । यदि कांग्रेसलाई बाइपास गरेर अगाडि बढ्न थाले गठबन्धन जतिबेला पनि टुटाउन सक्ने उनले चेतावनी दिएका छन् ।

‘अहिलेको आवश्यकता गठबन्धन हो, गठबन्धन बिनाका कार्यक्रम पनि मान्य हुँदैनन्’, सिंहले भने, ‘गठबन्धन भित्रका दलका नेता तथा कार्यकर्ताहरुले डोटीमा गठबन्धनका बिरुद्ध गरेका गतिबिधि घातक हुन सक्ने र त्यस्ता गतिबिधिले अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत असर पर्नेछ ।’
‘चुनाबमा भोटको मात्रै सहकार्य वा गठबन्धन हुँदैन’, सिंहले भने, ‘विकास निर्माणका काममा समेत सहकार्य हुनुपर्दछ ।’ उनले डोटीमा नेता बीरबहादुर बलायरको अनुपस्थितिलाई समेत आफुले मलम लगाउने काम गर्ने बताए ।









