सिलगढी/डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गोल्डकप २०७९ फुटबल प्रतियोगिता हुने भएको छ । दिपायल सिलगढी नगरपालिका वडा-६, भैरब प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म जिल्ला सदरमुकाम सिलगढी स्थित टुडिखेलमा फुटबल प्रतियोगिता हुने भएको छ ।
यति ठुलो प्रतियोगिता डोटीमा पहिलो पटक आयोजना हुन लागिएको हो । जसमा ८ वटा टिमको सहभागिता रहने छ । डोटी, कैलाली, बाजुरा, अछाम, डडेल्धुरा र बैतडी जिल्लाका टिम तथा भैरब प्रसाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी हुने पत्रकार सम्मेलन मार्फत भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा खेलमात्रै नभएर विभिन्न कला, सांस्कृतिक कार्यक्रमहरु समेत देखाइने प्रमुख सेनानी कार्कीले बताए ।


प्रतियोगिताको उद्देश्य डोटेली कला, संस्कृतिको जगेर्ना गर्नुका साथै प्रचार प्रसार गर्ने र सिलगढीमा रहेका नेवारी होमस्टेको प्रबद्र्धन समेत हुने उनले जनाएका छन् । जिल्ला बाहिरबाट आउने खेलाडीहरुको लागि खान, बास तथा यातायातको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।
दशैँ, तिहारको अवसरमा शुभकामना आदान प्रदान पनि हुने र खेलाडीहरुको क्षमता अभिबृद्धि होस भन्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना हुन लागेको दिपायल सिलगढी नगरपालिका-६ का वडा अध्यक्ष नरेश मलासीले बताए । प्रतियोगितामा केहि आर्थिक सहयोग तथा प्रतियोगिता अवधिभर स्वास्थ्य क्याम्प समेत रहने जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

खप्तड-शैलेश्वरी गोल्डकपमा प्रथम हुनेलाई नगद १ लाख सहित ट्रफि र दोस्रो हुनेलाई ५० हजार सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।









