सिलगढी/डोटी जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा घट्दै गएको छ । बिगत चार बर्षको तथ्याङ्क हेर्दा पछिल्लो बर्ष जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो ।
यौन तथा प्रजनन् स्वास्थ अधिकार र सुरक्षित गर्भपतन सेवाका पैरवीका वारेमा आइतबार गरिएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीले तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक बर्ष २०७५/०६६ मा सुरक्षित गर्भपतन गराउनेहरु एक अजार एक सय ४७ रहेका छन् । त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा एक हजार ३१, आर्थिक बर्ष २०७७/०७८ मा एक हजार एक सय ११, र आर्थिक बर्ष २०७८/०७९ मा नौ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन गराउने मध्य विष बर्षमुनिका आर्थिक बर्ष २०७५/०६६ मा ७० जना, २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ३५ जना र २०७८/०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख जोशीले बताए ।
विगतका दुई वर्ष कोभिडका कारण रोजगारीका लागि विदेश गएकाहरु घर आएका कारण गर्भपतन गराउनेको संख्या वढेको र पछिल्लो बर्षमा परिवार नियोजनको सेवा लिने बढ्नुका साथै गोपनियतालाई मध्यनजर गर्दै कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएका कारण सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्ने जोशीले बताए ।
जिल्लामा २७ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन उनले अनुरोध गरे ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपन सेवाका वारेमा जिल्लाका स्थानिय तहले स्वास्थ्य निति वनाउन ढिला गरेको आइपास नेपालका सुदूरपश्चिम प्रदेश कोर्डिनेटर उपेन्द्र कुँवरले वताए । यौन तथा प्रजनन् स्वास्थ्यका वारेमा सबैलाई जानकारी नहुँदा जोखिम वढ्दै गईरहेको उनले बताए ।

सामुदायिक विकास मञ्च नेपालका फोकलपर्शन सिद्धराज जोशिले बालविवाह गर्दा, धेरै बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गर्दा, विभिन्न औषधी सेवन गर्दा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा समुदाय स्तरमा महिलाको चेतना अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्ने वताए ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतनका बिषयमा काम गर्दै आईरहेको सामुदायिक विकास मञ्च नेपालका कार्यक्रम अधिकृत मधु पोख्रेलले प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जबाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्ने वताईन् । समुदाय स्तरमा यौन प्रजनन् स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन स्वास्थ्यका बारेमा खुलेर विचार विमर्श पनि नहुँदा समस्या निम्तिएको पोख्रेलले वताइन् ।









