डोटी/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । आइतबार नेपाली निजामती कर्मचारी युनियनको १९ औं स्थापना दिवसका अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।
फलफुल वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे । नेपाल निजामती कर्मचारीहरुले उठाएका मागमा एक्यवद्धता रहेको उनले वताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले राज्यले निजामती कर्मचारीलाई बिभेदकारी गर्न नहुने बताए । नेपाल निजामती कर्मचारीले उठाएका जायज मागमा साथ सहयोग रहने उनले बताए ।
नेपाल निजामती कर्मचारी युनियन डोटीका अध्यक्ष लाल बहादुर बोगटीले फलफुल वितरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आफुहरु आन्दोलमा रहेकोे सहभागीहरुलाई जानकारी गराएका थिए । नेपाल निजामती कर्मचारीहरुको तलबमान, समायोजन, अस्थायी करार ज्यालादारी कर्मचारीको न्यायोचित ब्यवस्थापन, कर्मचारी सेवा ऐन लागू गर्ने लगायतका १० वटा मागहरू रहेकोले सहयोग गरिदिन बोगटीले अनुरोध गरे ।
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भ्रातृसंगठनका प्रमुख प्रतिनिधि, शुभेच्छुक संगठनका प्रमुख प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।









