डोटी/डोटीका समुदायमा संचालन भईरहेका पढाई शिविरप्रति बालबालिकाको आकर्षण बढ्दो देखिएको छ । कक्षा ३ सम्मका बिद्यार्थीहरुलाई शनिबारको दिन अतिरिक्त पढाई हुने गरिन्छ । बालबालिकाको पढाई सिप विकास गर्न शनिबारका दिन पढाई शिविर हुने गरिएको हो ।
जिल्लाका चारवटा पालिका भित्रका बिभिन्न बिद्यालयमा ९२ वटा पढाई शिविर संचालनमा आएका छन् । पढाई शिविरमा बालबालिकाहरुलाई बिभिन्न खेल माध्यमबाट सिकाई तथा पढाई सिप विकास गर्ने गरिएको आदर्श गाउँपालिका- ५ स्थित पिड पढाई शिविर सहजकर्ता भगवती धामीले बताइन् ।

शिविरमा बालबालिकाहरुलाई कक्षा कोठामा बसाइ व्यवस्थापन देखि सरसफाइका कुराहरु समेत सिकाउने गरेको पाईन्छ । वल्र्ड भिजन ईन्टरनेशनल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र र सिड नेपाल डोटीले बिभिन्न समुदायमा पढाई शिविर लगायत अन्य कार्यक्रमहरु गर्दै आईरहेका छन् ।
शिविरले पढाई सिप विकास भईरहेको बिद्यार्थी लक्ष्मी धामीले बताइन । पढाईमा सुधार आईरहेको तथा सरसफाइ लगायत अतिरिक्त क्रियाकलापमा समेत सहयोग भईरहेको अर्का बिद्यार्थी प्रज्वल धामीले बताए । बिद्यालयमा छापामय कक्षा कोठा निर्माण भएकाले समेत पढाईमा सहज भईरहेको बालबालिकाहरुले बताएका छन् ।
दिपायल सिलगढी नगरपालिका, पूर्बीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका बिभिन्न बिद्यालयहरुमा समावेशी तथा गुणस्तरिय शिक्षा प्राबिधिक परियोजना तथा बाल स्पोन्सरसिप परियोजना लागु भएको छ । परियोजना मार्फत बिद्यालयमा बालमैत्री, अपाङ्गमैत्री लगायतका भवन तथा शौचालयहरु निर्माण, बाल क्लबहरुलाई बिभिन्न किसिमका शैक्षिक सामग्री, खेलकुदका समग्रीहरु उपलब्ध गराउने गरिन्छ भने बालक्लबलाई बालबिवाह तथा छाउपडी प्रथा न्युनिकरण गर्न बिभिन्न किसिमका सडक नाटक, तालिम दिइने गरेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए ।
कार्यक्रम प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनको लागि स्थानीय तहहरुले समेत सहयोग गर्नुपर्ने आदर्श गाउँपालिका- ३ का बालक्लबका अध्यक्ष प्रेम पाठकले बताए । उनले टोल-टोलमा गएर अभिभावकहरुलाई समेत बालबिवाह तथा छाउपडी न्युनिकरण गर्न बिभिन्न तालिम लगायतका क्रियाकलाप दिनुपर्ने बताए ।
पूर्बीचौकी गाउँपालिका- १ र २ का बालबालिकाहरुको शैक्षिक सुधार तथा बिपन्न परिवारका बालबालिकाहरुको आर्थिक सुधारमा समेत फड्को मारिरहेको अभिभावक रमेश खड्काले बताए । परियोजना मार्फत बिपन्न परिवारका बालबालिकाहरु मार्फत बाख्रा समेत बितरण गरिएको छ । कार्यक्रम प्रभावकारी तथा दिगो राख्न स्थानीय तह लगायत सबै सरोकारवाला निकायको महत्वपूणर् भूमिका हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लक्ष्मणबहादुर सिंहले बताए ।









