काठमाडौं/अख्तियार दुरुपयोग आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित सातजना विरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, सायल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेशबहादुर वोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी वोगटी (खड्का) ले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट मेल्लेख चनपन्ना देवरमाण्डौं कृषि सडक योजनाको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिइ अनियमितता गरेकोबारे उजुरी परेको थियो ।
उजुरीका आधारमा छानविन गर्दा अनियमितता गरेको पाएपछि सातैजनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।









