डोटी/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्बमन्त्री वीर बहादुर बलायरले आफुसंग डोटीलाई आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी लगायतका पक्षमा आमुल परिवर्तन ल्याउन सक्ने दश बर्षे मार्गचित्र रहेको बताएका छन् ।
नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेसलाई जिताऔं’ अभियान अन्तर्गत बुधबार केआईसिंह गाउँपालिकामा आयोजना गरेको बृहत आम सभालाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् । त्यसका लागि एक्लैले नहुने भएकाले सबैको साथ आवश्यक रहेको बलायरले बताए । उनले सबैलाई जनजीवनसंग जोडिएका कामहरुमा लाग्न आग्रह गरे । उनले दुई तिहाई पाएको कम्युनिष्ट सरकार देश चलाउन नालायक भयो र देश बचाउन कांग्रेसको आवश्यकता भएर अहिले कांग्रेस नेतृत्वमा रहेको बताए ।

ओलीका उखान टुक्का र कम्युनिष्टहरुको लुटका कारण देश संकटमा परेको बताउँदै सभापति बलायरले कम्युनिष्टहरुले राज्यको ढुकुटी रित्याएको बताए । ‘कांग्रेसले जम्मा गरेर राखेको देशको ढुकुटी कम्युनिष्टले लुकाए, लुटेर खाए र कार्यकर्ता पाले आज उनका नेता कार्यकर्ता विलासी जीवन विताइ रहेका छन् ।’ बलायरले भने, ‘बङ्करमा बस्ने कम्युनिष्टहरु अहिले जनताको घरदैलोमा आउन छोडेर महलमा बिलासी जीवन बिताइरहेका छन् ।’
कम्युनिष्ट नेतृत्वको तीनै तहको सरकारले गरेको लुट, भ्रष्टाचारको पर्दाफास गर्नका लागि भए पनि कांग्रेसले चुनाव जित्नु पर्ने उनको भनाई छ । ‘कम्युनिष्ट नेतृत्वमा भएका पालिकामा खातापाता, हिसाव किताव देखाइएको छैन’, ‘उनले भने, ‘लेखा परीक्षण गरिएको छैन ।, खातापातहरु खोतलेर हिसाब किताब माग्नको लागि पनि कांग्रेसले जित्नु पर्दछ ।’ प्रदेश सरकार कार्यकर्ता मुखी सानातिना योजना बनाउँदै २०/२५ प्रतिसतमा योजना बेचिरहेको उनले बताए ।
कांग्रेसले जनमतको कदर गर्दै जनताले दिएको मत परिणाम सहर्ष स्वीकार गर्ने जनाउँदै उनले हारे पनि जिते पनि कांग्रेस जनताको घरघरमा आउन नछोड्ने बताए ।
बलायरले आउँदो निर्वाचनमा कांग्रेसको कुनै पार्टीसंग पनि गठबन्धन नहुने बताए । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस नरहेकाले आउँदो निर्वाचनमा पनि गठबन्धन नहुने बताएका हुन् ।
सुदूरपश्चिममा कांग्रेस एल्लै बहुमतले बिजयी हुने दावी गर्दै सभापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हारबेहोर्नु परेको बताए । उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिएका छन् । नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताहरुले कुनै पनि हालतका आफ्नो चुनाव चिन्ह ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने बलायरको भनाइ छ । उनले भने, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन ।, कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन ।’ सम्बोधनका क्रममा उनले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले बिजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे ।
त्यसैगरी आमसभामा बोल्दै केन्द्रिय प्रतिनिधी तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण गिरीले समेत नेपाली कांग्रेस आउँदो निर्वाचनमा कुनै पार्टीसंग गठबनधन नगर्ने बताए । उनले कांग्रेस एक्लै चुनाब लड्न सक्षम रहेकाले कसैसंग सहकार्य गर्नुपर्ने आवश्यक नरहेको बताए । एमसीसीका बिषयमा कम्युनिष्टहरुले गलत भ्रम फैलाइरहेकाले सबै सचेत रहन गिरीले आग्रह गरे ।
केआईसिंह गाउँपालिकामा भएको आमसभामा सयौंको संख्यामा बिभिन्न पार्टी परित्याग गरी नेपालीका कांग्रेसमा प्रबेश गरेका थिए । चार सयको संख्यामा कांग्रेस पार्टीमा प्रबेश गरेका थिए । नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेदबार रहेका व्यक्ति लगायतले पार्टी प्रबेश गरेको नेपाली कांग्रेस केआईसिंह गाउँ कार्य समितिका सभापति अर्जुन बलायरले जानकारी दिए ।
स्थानीय चुनाबमा कांग्रेस उम्मेदवारलाई विजय गराउने र एमसीसीका विषयमा भ्रम चिर्ने लगायतका उद्देश्य लिएर गाउँ अभियानमा लागेका नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र बहादुर सिंहले बताए । कांग्रेसले चुनावसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, बिगतको ओली सरकारले तीन वर्षमा गरेका जनविरोधी र असंवैधानिक कदमलाई जनता समक्ष व्यापकरुपमा लैजाने उद्देश्यले कार्यक्रम गरिएको उनले जनाए ।
‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गतका बाँकी पालिका स्तरका आमसभाका कार्यक्रमहरु चैत ४ गते सायल गाउँपालिकामा, चैत ५ गते आदर्श गाउँपालिकामा, चैत ६ गते दिपायल सिलगढी नगरपालिकामा, चैत ७ गते पूर्बीचौकी गाउँपालिकामा तथा चैत ८ गते शिखर नगरपालिकामा गरिने बताइएको छ । पालिका स्तरका कार्यक्रम पश्चात केन्द्रिय प्रतिनिधी एक महिनासम्म जिल्लामै रहने र गाउँ अभियानमा सहभागि हुने जनाइएको छ ।









