डोटी/जिल्लाको पूर्बीचौकी गाउँपालिका- ५ काँडामाण्डौंमा उत्पादन हुने बासमती चामल ‘काँडामाण्डौं बासमती चामल’ नामले ब्राण्डिङ्ग भएर बजारिकरण भएको छ ।
‘खप्तड क्षेत्र घुमफिर गरौं हेरौ अपि हिमाल, पटक पटक स्वाद लिउँ शुद्ध प्राङ्गारिक बास्नादार चामल’ नारा लिएर आएको काँडामाण्डौं बासमती चामल सुदूरपश्चिमको मुख्य बजार धनगढीदेखि काठमाण्डौंका केहि निश्चित स्थानमा पाइन थालेको छ ।

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. पूर्बीचौकी- ४ सानागाउँले किसानबाट चामल खरिद गरी प्याकेजीङ्ग गरेर बजारमा ल्याएको हो । कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा सहकारी संस्थाले यस्तो काम थालेहो हो । कृषि ज्ञान केन्द्रले ३ लाख बराबरको सहयोग गरेको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । किसानलाई व्यवसायी बनाउने र लोप हुन थालेको रैथाने जातको धानको प्रवर्धन गर्ने उद्देश्यले बासमती चामललाई बजारिकरण गरिएको प्रमुख पनेरुले बताए ।
किसानबाट प्रति केजी एक सय ३० रुपैंयाको दरले चामल खरिद गर्ने र प्याकेजीङ्ग गरेर बजारमा प्रति केजी एक सय ४० को दरले बिक्रि गर्ने गरेको सहकारी संस्थाका सचिब जयन्त खड्काले जानकारी दिए । ‘सुरुवाती चरणमै चामलको माग बढेकाले किसानहरु समेत उत्साहित भएका छन्’, खड्काले भने, ‘एउटै किसानबाट करिब २/३ क्वीन्टरसम्म चामल खरिद भएको छ ।’ भरखरै सुरु गरेको भएपनि चामलको माग धनगढीदेखि काठमाण्डौंबाट समेत हुन थालेको उनले बताए ।
‘सुरुवाती चरणको काम भएकाले किसानले ओखलमा कुटेर बनाएको चामल ल्याएर सिधै प्याकेजीङ्ग गरिरहेका छौं’, सचिब खड्काले भने, ‘यो चामल मात्रै पकाउँदा भात गिलो हुने र पचाउनमा समेत केहि समस्या हुने भएकाले अरु चामलमा मिसाएर पकाउदा मठिो तथा राम्रो बास्ना आउछ ।’ ज्ञान केन्द्रको सहयोगमा यो कार्य सम्भव भएको उनले बताए । केन्द्रबाट प्याकेजीङ्गको सामग्री गरिद गर्ने लगाएत प्राबिधिक सहयोग भएको उनले जानकारी दिए । अहिले पाँच केजीको प्याकमा मात्रै चामल बजारमा पठाएको छ ।
बासमती चामल बजारमा बिक्रि हुन थालेकोले आफु खुसी भएको किसान ध्रुब धानुकले बताए । ‘अबदेखि यो धानको उत्पादन समेत बढाउँछौं’, धानुकले भने, ‘बिगतका बर्षहरुमा थोरै फलाएर आफु खाने र आफन्तलाई बाढ्नमै सिमित थियौं, अब बजारमा बिक्रि गर्दा राम्रो आम्दानीको स्रोत भएको छ ।’ आफैले फलाएर ओखलमा कुटेको चामलको बजारमा माग हुँदा आफुहरु उत्साहित भएको किसान दुर्गा जोशीले बताइन ।
डोटीमा यस अघि जोरायल गाउँपालिकामा उत्पादन हुने जोरायले बासमती चामल समेत बजारमा गइसकेको छ । जोरायले बासमती चामलको बजार पनि राम्रो रहेको ज्ञान केन्द्रले जनाएको छ । जोरायले बासमती चामल प्रशोधन सहित प्याकेजीङ्ग भएर बिगतका बर्षदेखिनै बजारमा उपलब्ध हुन थालेको हो ।









