काठमाडौं/सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफरिस गरेको छ । सोमबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले राष्ट्रपतिसामु सो सिफरिस गरेको हो ।
यो सिफरिससँगै अब मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खुलेको छ।

लामो समयसम्म मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका थिए। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता गरेपछि मात्र सरकारमा सहभागी हुने बताउँदै आएको छ।
यसअघि सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो ।
सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् ।









