डोटी/आज असोज सक्रान्ति अर्थात विजय उत्सवको रुपमा मनाईने बुढी पोल्ने पर्व सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा शुक्रबार साँझ धुमधाम साथ मनाइएको छ ।
बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज सक्रान्तिमा मनाईने गर्दछ । यसलाई बन्दुनी संक्रान्ति पनि भन्ने गरिन्छ ।
परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतीकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन छ ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुसियालीमा यो पर्व मनाईने गरिएको बताइएको छ ।
भदौ संक्रान्तिका दिन गाडीएको सल्लाको विरुवाको लिङ्गोलाई महिनादिनसम्म घेरबार गरिन्छ र असोज संक्रान्तिको साँझपख सो बन्दुनी पोलिने गरिन्छ । गाउँभरीका व्यक्तिहरु सो स्थानमा जम्मा भएर बढी पोल्दै रमाउने र घरबाट लगेको काँक्रा एकअर्कामा बाढ्दै खाने गरिन्छ ।
बढी पालिसकेपछि बचेका अगुल्टोहरु अन्यत्र फाल्दै लुतो फाल्ने चलन समेत रहेको छ । त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो-बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ ।
यस पर्वमा रातभरी देउडा खेल्ने तथा अन्य साँस्कृतिक कार्यक्रम समेत गरिने चलन रहेको छ ।










