डोटी/सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९६ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
आज सङ्क्रमितमध्ये १८ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको थियो। पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४ र डडेल्धुरा अस्पतालमा गरिएको चार जनामा सङ्क्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका एकएक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ। प्रदेशभर १४ जना सङ्क्रमण मुक्त भएका छन्। यसअघि शुक्रबार सुदूरपश्चिमका १३ जनामा सङ्क्रमण पुष्टि हुँदा १६ जना सङ्क्रमणमुक्त भएका थिए।









