काठमाडौँ/प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्री तोक्न नसक्दा खुला विज्ञापन र अनुमति पत्रको परीक्षाको पर्खाइमा रहेका शिक्षक तथा विद्यार्थीहरू अन्योलमा परेका छन्। लाइसेन्स, बढुवा र खुला तर्फको विज्ञापन गर्न नियमावलीमा भएका केही प्रावधानले समस्या पर्ने भन्दै नियमावली संशोधनका लागि मन्त्रि परिषद्मा पठाइएको र विचाराधीनमा रहेको छ । शिक्षा मन्त्री नभएको र शिक्षा मन्त्रालय प्रधानमन्त्री आफैले समालेका कारण नियमावली संशोधनमा ढिलाइ भएको आयोगको तर्क छ । उक्त ढिलाइले आयोगको काम समेत प्रभावित बनेको छ।
त्यस्तै आयोगले पनि आफ्नो खुला विज्ञापन र अनुमति पत्रको कार्ययोजना सार्वजनिक गर्न सकेको छैन। पदाधिकारी नियुक्त भएको १ महिना भन्दा बढी समय बितिसक्दा पनि कुनै ठोस नतिजा देखिने काम गर्न नसकेको भन्दै सरोकारवालाहरूले आलोचना गरेका छन्।

अघिल्लो वर्षको चैत्र सम्मको रिक्त दरबन्दी विवरण आइसकेको छ भने यो वर्षको चैत्रसम्मको विवरण आए पछि एकै पटक खुला विज्ञापन गर्ने तयारी आयोगको छ । त्यसका लागि आयोगले रिक्त दरबन्दी विवरणलाई खुला,बढुवा, समावेशीमा विभाजन गर्नुपर्ने र त्यसलाई विभाजन गरेर विज्ञापन गर्नुपर्ने हुन्छ।
यसै बिच धेरै परीक्षार्थीलाई आयोगको पाठ्यक्रम कस्तो हुन्छ र कसरी तयारी गर्ने भन्ने दुबिधा रहेको पाइन्छ। यति बेला शिक्षक विज्ञापन गर्नको लागि निर्माण गर्न बाँकी रहेका पाठ्यक्रमको निर्माण कार्य भइरहेको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिए । पाठ्यक्रम निर्माण भएको कम्तीमा तिन महिनाको समय राखेर विज्ञापन खोल्नुपर्ने प्रावधान छ । त्यसो हुँदा धेरै विषयको पाठ्यक्रम पुरानै हुने सम्भावना बढी छ। रेग्मीका अनुसार त्यो पुरानो भनिएको पाठ्यक्रम पनि धेरै पुरानो नभएकाले बनिसकेका पाठ्यक्रम लाई नै आधार मानेर विज्ञापन गर्ने र नभएका विषयको मात्रै नयाँ पाठ्यक्रम लागु गर्ने तयारी आयोगको छ।









