नरेन्द्र साउद

 

उहाँ

तत्कालीन नेकपामा वामदेव यस्तो अवस्थामा थिए, उनी जता पल्टे, त्यतै सचिवालयको बहुमत पुग्थ्यो

घटना १
विभाजनको झन्डै चार वर्षपछि २०५८ सालमा तत्कालीन एमाले र मालेबीच पार्टी एकता भयो। योगेश भट्टराई, रवीन्द्र अधिकारी, ठाकुर गैरे, रामकुमारी झाँक्री लगायतका पूर्वमालेका युवा नेताहरू ‘आफ्ना नेता’ वामदेव गौतम भेट्न उनकै निवास पुगे। एकीकृत पार्टीमा पूर्वमालेको उपस्थिति कमजोर हुने र कसरी अघि बढ्ने भनेर उनीहरू वामदेवलाई भेट्न पुगेका थिए। ‘मैले छोडेपछि पार्टीमा माधव नेपाल निकै कमजोर भइसकेका रहेछन, म चाँही केपी ओलीतिर लागें, तपाईंंहरू जता सजिलो हुन्छ, त्यतै लाग्नुहोला’, उनको जवाफ थियो। ‘होइन, जता लाग्ने हो, सबै एकै ठाउँ लागौं न, तपाईंले संरक्षण गर्नुपर्‍यो भनेर हामीले त्यस दिन गौतमलाई निकै सम्झायौं’ त्यस दिनको स्मरण गर्दै एक नेताले सुनाए, ‘तर उहाँ (वामदेव) मान्नु भएन।’ परिणामतः वामदेव ओलीतिर, युवा नेताहरू माधव नेपाल, झलनाथ खनालतिर लागे।

घटना २
२०७६ जेठमा (नेकपा) अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने कि नहटाउने भन्नेमा पार्टीभित्र तीव्र विवाद चल्यो। सुरुमा ओलीलाई दुवै पद छोड्न चेतावनी दिएका गौतमले अन्तिममा सचिवालय बैठकमा ओलीलाई नै साथ दिने जनाउ दिए। पूर्वमालेसम्वद्ध युवा नेताहरू पुनः गौतमलाई भेट्न उनकै निवास पुगे। ठाकुर गैरे, रामकुमारी झाँक्री, दिपकप्रकाश भट्ट लगायतका नेताले ओलीको साथ छोडेर प्रचण्ड–माधव नेपाललाई साथ दिन वामदेवसँग आग्रह गरे। उनले त्यस दिन पनि युवा नेताहरूको भावनाविपरीत ओलीलाई नै साथ दिने अडान राखे। ‘तपाईंहरू जता लाग्नुहोस् मलाई मतलब छैन। म चाँही ओलीलाई नै साथ दिन्छु’, गौतमले अडान राखे। भैंसेपाटीमा भएको त्यस दिनको भेटमा वामदेव र पूर्वमालेका युवा नेताबीच निकै चर्काचर्की परेको थियो। गौतम ओलीतिर लागे, फेरि पूर्वमाले पक्षधर नेताहरू प्रचण्ड, नेपाल पक्षतिरै लागे।

घटना ३
एमालेभित्र विवाद बढ्दै गएपछि वरिष्ठ नेता माधव नेपालले कसरी अघि बढ्ने भन्नेमा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँग असार साउनमा बाक्लै भेटघाट र परामर्श गरे। त्यही बेला कोटेश्वर पुगे, गौतम। ‘म ओलीतिर लागेर डुबें, अब तपाईं नलाग्नु होला’, त्यस दिन नेता नेपालसँग वामदेवले भनेका थिए, तपाईं नयाँ पार्टी बनाउनुहोस्। म आउँछु। ओलीतिर लागेर केही हुँदैन।’ नेता नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि गौतमले आफू पक्षधर ‘एकता अभियान’का नेताहरूसँगको भर्चुअल मिटिङमा अब आफू नेपालको पक्षमा लाग्ने घोषणा गरे। भदौ ६ मा सचिवालयका तर्फबाट वक्तव्य निकाल्न लगाएर गौतमले आफू पूर्वएमालेमै रहेको घोषणा गरे।

सर्वोच्चको फैसलाले नेकपा दुई चिरा परेपछि वामदेव दुवैतिर लागेनन्। उनले पार्टी एकता अभियान सुरु गर्ने घोषणा गरे। तर एकताका नाममा छुट्टै पार्टीको अभ्यास गरे। उनको अभियानले एकताका पक्षमा न त ठोस प्रयास गरेको देखियो, न त अभियानको सार्थकता नै पुष्टि भयो। नेकपा मात्र होइन, एमाले नै दुई चिरा पर्दा पनि वामदेव फट्के किनाराका साक्षी बसे। पार्टी अध्यक्ष ओली र नेता नेपालबीच सहमति गराउनेतिर वामदेवको भूमिका खासै देखिएन। झन्डै दुईतिहाईको नेकपामा विवादको ‘बिउ रोप्ने र फाटो ल्याउने’ काममा अग्रसर भएको आरोप वामदेवमाथि छ। पूर्व मालेसम्वद्ध रामकुमारी झाँक्री लगायतका कतिपय युवा नेताले मुखै फोरेर वामदेवलाई यो आरोप लगाइसकेका छन। जतिबेला झन्डै दुईतिहाई बहुमतप्राप्त ‘भीमकाय’ नेकपामा सत्ता परिवर्तन वा पार्टी विभाजनको कल्पनासम्म कसैले गरेको थिएन। त्यही बेला वामदेवकै कारण पार्टीमा विवादको बिउ रोपिएको थियो।

संसदीय निर्वाचनमा पराजित भएका वामदेवले उपनिर्वाचन गरेर आफू संसद्मा आउनुपर्ने कार्ड फ्याँके। त्यो बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई जानकारीसम्म नदिई काठमाडौं ६ बाट निर्वाचित रामवीर मानन्धरलाई राजीनामा गर्न लगाई आफू उपनिर्वाचनबाट प्रतिनिधिसभामा आउने घोषणा नै गरे। वामदेवले काठमाडौं, डोल्पा लगायतका क्षेत्रमा उपनिर्वाचन गर्न र आफू जसरी पनि प्रतिनिधिसभामा आउनैपर्ने भन्दै पार्टीमा प्रस्ताव राखिरहे। राष्ट्रिय/अन्तर्राष्ट्रिय मौसमी राजनीति वा पार्टीका नेताहरूको उक्साहट वा गुटगत स्वार्थ जे भए पनि वामदेवले ओली नेतृत्वको सरकार ढल्न सक्ने र अरू कोही पनि प्रधानमन्त्री हुन सक्ने विषयलाई जबर्जस्त पार्टी र राष्ट्रिय राजनीतिमा प्रवेश गराए।

वामदेवले भीमकाय र शक्तिशाली दुईतिहाईको सरकारमा बञ्चरोले पहिलो चोट हिर्काए। उनले भने, ‘यो भीमकाय रुख पनि ढल्न सक्छ र यसको निशाना यहाँ छ।’ उनको निशानापछि त्यो भीमकाय रुखमा कसैले नंग्राले खोस्रे होलान्, कसैले घरेलु हँसियाले प्रहार गरे होलान्, कोही राति लुकेर रुख उखेल्न लागे होलान्, कोही विदेशी आरा लिएर जरा काट्न थाले होलान्। त्यो भीमकाय नेकपारूपी सत्ताको विकल्प हुन सक्ने सन्देश वामदेवले नै दिएका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा आधा आधा कार्यकालको लिखित सहमति सार्वजनिक गर्नुअघि नै वामदेवले ओली सरकार विकल्पको खोजी गर्दै प्रधानमन्त्रीको ‘सपना र आकांक्षा’ सार्वजनिक गरिसकेका थिए। त्यतिबेला प्रतिनिधिसभामा उनले जोड गर्नुको पछाडि सांसद पदको मात्र मोह थिएन भन्नेमा अध्यक्ष ओली सचेत थिए।

वामदेवले राष्ट्रियसभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भनेर संविधान संशोधनको ‘लबिङ’ गर्नु ओली सरकार ढाल्ने भित्रि लक्ष्य थियो भन्नेमा शंका थिएन। नेताहरूका अनुसार नेकपामा ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति पनि वामदेव नै थिए। तत्कालीन नेकपामा उनी यस्तो अवस्थामा थिए, उनी जता पल्टे, त्यतै सचिवालयको बहुमत पुग्थ्यो। ओलीबाट केही प्राप्ति गर्नुछ भने उनीप्रचण्ड र नेपाललाई उचाल्थे। जब प्रचण्ड रनेपालले वामदेवको विषयमा अडान राख्थे, तब उनी ओलीको पक्षमा उभिन्थे। तत्कालीन नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘वामदेवले सुरुदेखि नै ओलीलाई साथ दिएको भए, पार्टीमा लफडा हुने थिएन। दुईतिहाईको नेकपा सग्लै रहने सम्भावना रहन्थ्यो।’  अर्कोतिर, वामदेवले सुरुदेखि नै प्रचण्ड र नेपाललाई साथ दिएको भए, नेताबीच त्यति साह्रो इगो बढ्ने थिएन, अर्कै ढंगले पार्टी अघि बढ्ने सम्भावना पनि उत्तिकै थियो।

२०७६ जेठको तिब्र विवादमा वामदेवले नै ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न कडिकडाउ नै गरेका थिए। तर जब दाहाल र नेपाल सचिवालयबाट ओलीको राजीनामा माग्ने तयारीमा जुटे। मुख्य प्रस्तावक वामदेवले बोली फेरे। उनी ओली पक्षमा उभिए। त्यतिबेला ओलीको रिसले वामदेव उनको राजीनामा माग्थे। तर, दाहाल र नेपालसँग वामदेवलाई ‘दिने’ केही हुँदैनथ्यो। अनि, केही नपाइनेको पछि किन लाग्नु भन्दै गौतम फेरि ओलीकै पछि लाग्थे। गौतमको त्यही शैलीका कारण उनकै लागि पार्टीको विधान संशोधन गरीपार्टी उपाध्यक्ष पद सिर्जना गरियो। प्रतिनिधिसभा चुनाव हारे पनि उनलाई राष्ट्रियसभामा ल्याइयो। अध्यक्ष ओलीले वामदेवलाई पार्टीको संगठन विभाग र किसान महासंघको प्रमुख बनाए। नेकपाबाट एमाले र माओवादी अलग अलग पार्टी भएपछि पनि एमालेभित्रको विवाद साम्य हुन सकेन। अध्यक्ष ओली र नेपालबीच द्वन्द्व बढेका बेला ‘पानी छम्किने भूमिका’ वामदेवबाट नभएको कार्यकर्ताको गुनासो छ।

वामदेव जति हक्की, निडर र निर्भयी छन्, त्यत्ति नै सम्झौतावादी, सहयोगी र रियाक्टिभ पनि छन्। २०५४ सालमा पार्टी विभाजन गरेको आरोपमा तत्कालीन एमालेमा छोइछिटोको व्यवहार सहन बाध्य गौतमले महत्त्वपूर्ण क्षणमा भने आफू निर्णायक शक्तिको रूपमा प्रस्तुत गरे। २०६५ सालमा झलनाथ खनाललाई पार्टी अध्यक्ष र २०६७ मा झलनाथलाई प्रधानमन्त्री बनाउन गौतमले महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेका थिए। तर झलनाथले आफ्नो योगदान बिर्सेको भन्दै त्यसपछि गौतमले तत्कालीन एमालेमा केपी ओलीसँग गठबन्धन गरे। २०७० मा गौतमकै सहयोगमा ओली संसदीय दलको नेता र २०७१ मा गौतमकै सहयोगमा पार्टी अध्यक्ष बने। तर आफ्नो योगदान र भूमिकालाई नेताहरूले बेवास्ता गरेको भन्दै वामदेवले पछिल्ला दिनमा ढुक्कले कसैलाई पनि साथ नदिने गरेको उनि निकट नेताहरू बताउँछन्।

एमालेभित्र ओली र नेपालले अलग अलग चुलो बाल्ने तयारी गरेपछि वामदेव त्यस्ता पात्र थिए, जसले दुवैलाई एकताका लागि दवाब दिन सक्थे। ओलीतिर जाँदा उतै ठिक्क, नेपालतिर जाँदा उतै ठिक्क हुने उनको स्वभाव र बानीले ‘एकताका पक्षमा खासै योगदान’ नपुगेको नेताहरूको गुनासो छ। उल्टै, वामदेवले वरिष्ठ नेता नेपाललाई भेटेर कुनै हालतमा पनि ओलीसँग पार्टी एकता नगर्न र आफू पनि ओलीसँग नजाने विश्वास दिलाएका थिए। ‘ओलीलाई विश्वास गर्नु मेरो गल्ती हो। तपाईंले पार्टी फुटाउनु भयो भने  तपाईंसँगै हुनेछु’, भन्दै वामदेवले वरिष्ठ नेता नेपाललाई वचन दिएको स्रोतको भनाइ छ।

आफू पक्षधर केही सांसदलाई नेपाल ‘क्याम्प’मा प्रवेश गराएर कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा मतदान पनि गर्न लगाए। तर आफू भने अध्यक्ष ओलीले राख्ने बैठकमा सहभागी भइरहे। वामदेवले न ओली छोड्न सके, न त नेपाललाई दिएको वचन नै पूरा गरे। नेता नेपालले नयाँ पार्टी गठन गरेपछि वामदेवले आफू त्यसमा उभिने भन्दै आफूपक्षधरको भर्चुअल बैठकमा घोषणा पनि गरे। खै, किन हो कुन्नि फेरि भदौ ६ मा सचिवालयका तर्फबाट वक्तव्य निकाल्न लगाएर आफू एमालेमै रहेको घोषणा गर्न लगाए। ओलीतिर जाँदा ओलीलाई ठिक्क पार्ने, नेपालतिर जाँदा नेपालकै पक्षमा बचन दिने वामदेवको ‘चरित्र’ देखेर उनी निकट नेताहरू भन्छन्, ‘वामदेवका दुःख पनि।’

अन्‍नपूर्ण पोष्टबाट

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय