काबुल/अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानले अमेरिकालाई कडा चेतावनी दिएको छ । अगष्ट ३१ सम्म अमेरिकी सबै सैनिक फिर्ता नगरेमा अमेरिकाले गम्भीर परिणाम बेहोर्नुपर्ने भन्दै तालिबानले अमेरिकालाई कडा चेतावनी दिएको हो ।
सोमबार स्थानीय सञ्चारमाध्यमहरु समक्ष तालिबानका प्रवक्ता सोहेन साहिनले दिएको बयानअनुसार यदी अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकहरु फिर्ता गर्न अझै ढिलाइ गरेमा गम्भीर परिणाम निम्तिने तालिबानले चेतावनी दिएको छ । ३१ अगष्टसम्म सेना फिर्ता गर्न दिइएको म्यादभन्दा एक दिन पनि ढिलाइ गरेमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने बताइएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइतबार दिउँसो सञ्चारकर्मीहरुसमक्ष सूचना जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान मिसनमा खटिएका सैनिकबारे ताजा अपडेट गराएका थिए । गत जुलाइमा राष्ट्रपति बाइडेनले अमेरिकी सेनाले अगष्ट अन्तिमसम्म अफगानिस्तानमा जारी आफ्नो मिसन समाप्त गर्न आदेश दिएका थिए ।
अलजजिरामा प्रकाशित समाचार अनुसार सोमबार भर्चुअल बैठकमार्फत ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्ने र ३१ अगष्टको मितिलाई सार्न सल्लाह दिनेछन् ।









