डोटी, माघ– ४,
फागुन १ गतेदेखि १० गतेसम्म डोटीको दिपायल क्षेत्रमा डोटी महोत्सव २०८२ आयोजना गरिने भएको छ । डोटी उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गर्ने भएको छ ।
आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष बिक्रम साउँदले महोत्सवका बारेमा जानकारी दिएका थिए । स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको डोटी महोत्सवले डोटी जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष साउँदले बताए ।

डोटी महोत्सवलाई थप आकर्षक बनाउन डोटी आइडलको समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । गायन क्षेत्रमा रुचि भएका तथा नव प्रतिभा गायक गायिकाहरुका लागि डोटी आइडल महत्वपूर्ण प्लेटफर्म हुने बताइएको छ । १२ देखि ४० बर्ष उमेर समुहका प्रतिभाहरुलाई डोटी आइडलमा सहभागि गराइने बताएको छ । आइडलको अडिसन राउण्ड माघ १५ गतेदेखि रहेको छ ।
डोटी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका औद्योगिक, व्यापारिक र व्यवसायिक स्टलहरु, कृषि तथा हस्तहला प्रदर्शनी, पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक तथा बालमैत्री कार्यक्रमहरु लगायतका कार्यक्रम रहने जानकारी दिइएको छ । महोत्सवको समयभरी सेती नदिमा ¥याफ्टिङ्ग तथा मोटरबोट समेत संचालन गरिने बताइएको छ ।
महोत्सवमा अनुमानित ८५ लाख आम्दानी तथा खर्च हुने जानकारी दिइएको छ । महोत्सवको तयारी धमाधम भइरहेको र अन्तिम चरणमा पुगेको डोटी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर भण्डारीले बताए ।









