डोटी, माघ– २,
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
जिल्ला अदालत डोटीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, सुरक्षा निकायका प्रमुख तथा पत्रकार लगायतको उपस्थितिमा जिल्ला अदालत डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत पाण्डेयले आगामी दिनमा निर्वाचन सम्बन्धी सबै कामहरु यसै कार्यालयबाट सम्पादन हुने बताएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । डोटीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र एउटा मात्रै रहेको छ ।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीमा जम्मा एक लाख २८ हजार तीन सय ९९ मतदाता संख्या रहेको छ । जिल्लाभरी एक सय १८ मतदानस्थलहरु रहेका छन् भने मतदान केन्द्रहरु एक सय ८० वटा रहेका छन् ।









