डोटी, साउन– १,
डोटीको सदरमुकाम सिलगढी तथा आसपासका क्षेत्रमा वितरण भइरहेको खानेपानी लाइन सुधार तथा विस्तार हुने भएको छ ।
बिश्व बैंकको आर्थिक सहयोगमा संचालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले सिलगढी खानेपानीको पाईपलाइन स्तरोन्नती तथा विस्तारका लागि इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिएका छन् ।


उक्त आयोजनाले हालको खानेपानीको वितरण प्रणालीलाई सुधार गर्दै व्यवस्थित तरिकाले पाईप लाइन वितरण तथा व्यवस्थापनको काम अगाडि बढाउने अध्यक्ष खड्काले बताए । जसलाई डिएमए प्रणाली पनि भनिन्छ । आवश्यकता अनुसार ठाउँठाउँमा टंकी राखिने र उपभोक्ता सबैको घरघरमा समान ढंगबाट पानी वितरण हुने उनले बताए ।
‘सबैको घरघरमा सफा र स्वच्छ पानी चौबिसै घण्टा उपलब्ध हुन्छ, प्रयोग अनुसार शुल्क तिर्नुपर्ने हुन्छ’, उनले भने– ‘डिजिटल प्रविधि अनुसार मिटर जडान गरिने र क–कस्को घरमा पानी कति चलिरहेको छ वा बिग्रेको छ सबै सिस्टमबाट थाहा हुने गर्दछ ।’
बुधबार प्रकाशित सूचनामा आयोजनाको नाम– सिलगढी खानेपानी सुधार विस्तार आयोजना राखिएको छ भने धरौटी रकम ३८ लाख रहेको छ । सूचना प्रकाशन भएको मितिदेखि करिब दुई बर्षभित्रै आयोजनाको काम सक्नुपर्ने बताइएकाे छ ।









