डाेटी, असर- ६,
डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका-१ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जीप दुर्घटना भएको हो ।
आदर्श गाउँपालिकाकाे दहबाट दिपायल तर्फ आउदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जीप घुम्तीमा अनियन्त्रित भएर सडकबाट अन्दाजी २५० मिटर तल भिरमा खसेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा सायल गाउँपालिका-४ सुण्ड निवासी ४१ वर्षीया हरुदेवी विक, जीप चालक आदर्श गाउँपालिका-७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका-६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल गर्भवती रहेको प्रहरीले जनाएको छ ।
विक र जीप चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने कटुवालको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
दुर्घटनामा आदर्श गाउँपालिका-३ नुवाकोटकी १४ वर्षीया अनिता विक, सोही ठाउँकी १६ वर्षीय स्यानु विक, आदर्श गाउँपालिकाका- ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, सोही ठाउँका १४ वर्षीय दीपक विष्ट घाइते भएका छन् । त्यस्तै मृतक कटुवालकी ९ वर्षीया छोरी सविता कटुवाल पनि घाइते भएकी छन् ।
दुर्घटनाका घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।









