डोटी, चैत– २५,
डोटीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका बर्ष २७ का सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जनजागरण सामुदाय वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा घाट गद्दी (जम्मा) गर्न लैजाँदै गर्दा मिनीट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टिदा काठले च्याप्पिएर गुरुङ्गको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परी सोही सामुदायिक वनका अध्यक्ष लोक बहादुर पल्ली मगर घाईते भएका छन् । उनको बाँया हात र बाँया खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा प्राथमिक उपचार भइरहेको बताइएको छ ।
सोही गाउँपालिका– २ बर्छैनका ट्रक चालक गोपाल बडेला भने घटनास्थलबाट फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरिक्षक खेम बिक्रम के.सी.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।









