बन्दना बम,
डोटी, माघ- १४,
डोटी जिल्लामा किशोरीहरूलाई ‘एचिपभी’ खाेप लगाइने भएकाे छ । जिल्लाक ११ हजार ४ सय ८७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको हाे ।
जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते संचालन हुने खाेप अभियानमा कक्षा ६ देखि १० कक्षासम्म पढ्ने जुनसुकै समुहका किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धको खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए । खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत बताए ।
जिल्लाको स्थानीय तहगत रूपमा हेर्दा बडीकेदार गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय ४१ र नजाने ८ जना गरी ७ सय ४९ जना, बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय २९ र नजाने ४८ जना गरी ७ सय ७७ जना, जोरायल गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ८७ र नजाने १० जना गरी १ हजार ९७ जना, सायल गाउँपालिकामा विद्यालय जाने किशोरी ९ सय ४८ र नजाने ५२ जना गरी १ हजार जना, दिपायल सिलगढी नगरपालिकामा विद्यालय जाने किशोरी १ हजार ९ सय ३९ र नजाने १ सय २ जना गरी २ हजार ४१ जना, शिखर नगरपालिकामा विद्यालय जाने किशोरी १ हजार ६ सय १४ र नजाने ६३ जना गरी १ हजार ६ सय ७७ जना रहेका छन् ।
त्यसैगरी केआईसिंह गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार २ सय ६८ र नजाने ११ जना गरी १ हजार २ सय ७९ जना, पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना र आदर्श गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ४ सय २८ र नजाने २ सय ३५ गरी १ हजार ६ सय ६३ जना किशोरीहरूलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले जानकारी दिए ।
जिल्लाभरी विद्यालय जाने १० हजार ९ सय १ र विद्यालय नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ किशोरीलाई खोप लगाइने बताइएकाे छ । खोप लगाउनका लागि जिल्लाभर ३ सय २ खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी र ६ सय ४ जना स्वयंसेवक परिचालन गरिने समेत कार्यक्रम संयोजक विष्टले बताए ।









