सिलगढी, पुस– १६,
मालपोत कार्यालय डोटीमा डोटेली भाषाको अडियो बडापत्र उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले डोटेली भाषाको अडियो बडापत्र उद्घाटन गरेका हुन् ।


स्थानीय भाषामा बडापत्रलाई अनुवाद गरी अडियोमा समेत प्रसारण गर्नुपर्ने सरकारको निती रहेकाले सोहि अनुसार कार्य अगाडि बढाइएको मालपोत कार्यालयका सूचना अधिकारी शिद्धराज श्रेष्ठले जानकारी दिए ।
सबै सेवाग्राहीको सहजताका लागि यो कार्य राम्रो रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । सेवाग्राही मैत्री कार्य भएकाले सबै कार्यालयले डोटेली भाषामा अडियो बडापत्र बनाउनु पर्ने प्रजिअ जोशीले बताए । ‘बडापत्र पढ्न नजान्नेहरुका लागि काममा यो अडियोले ठुलो मिल्ने छ’, प्रजिअ जोशीले भने, ‘मालपोतबाट लिने सेवाका बिषयमा ग्रामीण क्षेत्रबाट आएका महिला तथा बुढापाकाहरुलाई पूर्णरुपमा जानकारी नहुन सक्ने भएकाले स्थानीय भाषाको यो अडियो बडापत्रले काम गर्न सहज हुनेछ ।’
हामीजस्ता नपढेका व्यक्तिहरुका लागि हाम्रै भाषाको अडियो बडापत्रले काम गर्न सजिलो हुने सेवाग्राही खिमा बोहराले बताइन ।









