गणेश बहादुर मौनी
डाेटी, पुस ६,
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले डोटी लगायत सुदूरका तिन जिल्लामा बजार अनुगमनका साथै नमुना सङ्कलन कार्यमा तीव्रता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको संयुक्त अनुगमन तथा एकल अनुगमनबाट चालु आर्थिक बर्षमा करिब २० पटक भन्दा बढी बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर सापकोटाले बताए ।

उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियम विपरीत मूल्य, म्याद नाघेका चिज बस्तुहरूको नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्ने गरेको समेत प्रमुख सापकोटाले बताए । बजार अनुगमनका क्रममा खाद्य पदार्थ सुजी, मसालाहरू, पेय पदार्थ, दालमाेट प्राय बढी मात्रामा म्याद गुज्रेका पाइने भएकाले उपभोक्ताहरूले सामाग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाव समेत दिएका छन् ।
डोटी, अछाम र बाजुरा जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा गर्ने गरेको बजार अनुगमन कार्यमा खाद्य सामाग्री, होटेल, रेस्टुरेन्ट, खाद्य उद्योगहरूलाई विशेष रूपमा हेर्ने गरेको समेत बताए । चालु आर्थिक बर्षमा मात्र करिब ३० हजार बराबरको अखाद्य सामाग्री जफत गरी नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले केही दिन अगाडी मात्र डोटीको प्रमुख व्यापारिक केन्द्र सिलगढी, दिपायल, राजपुर बजार अनुगमन गरी बजारमा आएका सामाग्रीहरू मापदण्ड अनुसार छन् की छैनन् भन्ने हेतुले ५५ वटा नमुना सङ्कलन गरिएको समेत प्रमुख सापकोटाले बताए ।
गत वर्ष बजार अनुगमनबाट स्वास्थ्यमा नै असर पर्ने, कम गुणस्तरका सामाग्रीहरू उत्पादन गन कैफियत देखिएका ५ वटा उद्योगको नाममा मुद्दा चलाइएको बयान लिने कार्य भएको मुद्दा किनारा लागि नसकेको प्रक्रियामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले जनाएको छ ।

पछिल्लो समयमा डोटी जिल्लामा नियमित रूपमा बजार अनुगमन गर्दा व्यापार व्यवसाय सम्बन्धित निकायमा दर्ता आबद्धताको सङ्ख्या बढ्नुका साथै व्यापारीहरू पनि सचेत हुने गरेको पाइन्छ ।









