सिलेट खबर,
शिखर नगरपालिका डोटीले ‘शिक्षक सम्मेलन २०८१’ को आयोजना गरेको छ । ‘सेवा, समर्पण र सम्भावना स जागृत शिक्षक शिखरको चाहना’ भन्ने मुलमन्त्रका साथ शनिबार आयोजना गरिएको एक दिने शिक्षक सम्मेलनमा शिखर नगरपालिका भित्रका सामुदायिक विद्यालयका सबै शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


शिक्षकहरूलाई जागृत, प्रेरित गराउँँदै शैक्षिक सुधारको यात्रालाई अगाडि बढाउने तथा शैक्षिक क्रान्ति ल्याउन शिक्षक सम्मेलनको आयोजना गरिएको शिखर नगरपालिका शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले जानकारी दिए । उनले शिक्षक पेशामा व्यवसायिकता ल्याउने सम्मेलनको उद्धेश्य रहेको समेत बताए ।
मेयर शैक्षिक सुधार कार्यक्रम मार्फत नगर भित्रका सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधारका विभिन्न कार्यक्रमहरू संचालन गरिने र जनशक्तिको क्षमता विकास तथा परिक्षा प्रणाली गुणस्तरीय बनाइने भावि कार्यदिशा रहेको कार्कीले जानकारी गराए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले सम्मेलनले शिखर नगरपालिकाको शैक्षिक सुधारमा ठुलो टेवा पुग्ने बताए । उनले शिक्षामा सुधार ल्याउनका लागि शिक्षकहरूमा इच्छाशक्ति हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख दीर्घ बहादुर बलायरले सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा रहेकाले आगामी दिनमा शैक्षिक सुधारका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेकाले सबैको सहयोगले शिक्षामा सुधार आउने बताए ।

नगरपालिकाले विद्यालयको भौतिक अवस्था, एक विद्यालयदेखि अर्को विद्यालयसम्मको दुरी, बिद्यार्थी संख्या, शिक्षाको गुणस्तर लगायतका सूचकहरुको आधारमा विद्यालयको तह निर्धारण गर्ने र शिक्षक दरवन्दी मिलान गर्ने कार्य सम्पन्न गरेको वताउँदै नगर प्रमुख बलायरले तोकिएको विद्यालयमा गएर गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । सो अवसरमा नगर प्रमुख बलायरले ‘शिखर शैक्षिक सुधार बर्ष २०८१’ को घोषणा समेत गरेका छन् ।









