आम नागरिकहरुका न्यायपालिका प्रतिको अपेक्षा पुरा गर्दै प्रभावकारी न्यायप्रशासन कायम गर्नु मेरो दायित्व हो : प्रधानन्यायाधीश श्रेष्ठ
खगेन्द्र सिंह,
डोटी, बैशाख– २/सर्बोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ । डोटीको सदरमुकाम सिलगढीमा नेवार समुदायमा उनको जन्म भइ स्कुल स्तरको पढाइ सिलगढीमै गरेका श्रेष्ठलाई गाजाबाजाका साथ सिलगढी बजारमा परिक्रमा गराइएको थियो ।


बजार परिक्रमा पश्चात प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर प्राङ्गणमा औपचारीक कार्यक्रम गरी उनलाई नागरिक अभिनन्दन गरिएको थियो । नागरिक स्तरबाट गरिएको नागरिक अभिनन्दनको नेतृत्व दिपायल सिलगढी नगरपालिका, जिल्ला समन्वय समिति र पूर्वीचौकी गाउँपालिकाले गरेका थिए ।
अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संबिधानले प्रत्याभुति गरेको स्वतन्त्र, निस्पक्ष र सक्षम न्यापालिकाको मान्यता अक्षुण राख्दै प्रभावकारी न्यायप्रशासन कायम गर्न क्रियाशील रहनु मेरो प्रमुख भुमिका र जिम्मेवारी रहन्छ ।’ न्यायपालिकाको नेतृत्व गर्दै गर्दा स्वच्छ, निश्पक्ष, छिटोछरितो, गणस्तरिय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र बिधिको शासनको प्रत्याभुति गर्दै आम नागरिकहरुका न्यायपालिका प्रतिको अपेक्षा पुरा गर्नुपर्ने दायित्व रहने उनले बताए ।

‘न्याय, समानता बिधिको शासन र सुशासनको प्रत्याभुति मार्फत मुलुकको समृद्धि र न्यायपुर्ण स्थापनाका लागि न्यायपालिकाले खेल्ने भुमिका र पु¥याउनु पर्ने योगदान उत्तिकै महत्वपूर्ण हुन्छ’, उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले सर्बोच्च अदालतको प्रधानन्यायाधीश हुँदै गर्दा यहाको विकासको लागि समेत उहाँले योगदान दिनु पर्ने बताए ।
डोटी जिल्ला र बिशेषगरी सिलगढी बजारलाई पर्यटकीय आकर्षकको रुपमा निर्माण गर्द उहाँले पहल गरिदिनु पर्ने समन्वय प्रमुख सिंहले आग्रह गरे । सुदूरपश्चिम र कर्णाली प्रदेशको एक मात्र बाल सुधारगृह डोटीमा रहेको र क्षमताभन्दा बढी बालबालिका रहेकाले, उक्त बाल सुधारगृहको स्तर उन्नतीका लागि समेत सिंहले आग्रह गरे ।

अभिनन्दन कार्यक्रमका सभापति दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्काले हिजोको डोटी बनाउन हामी सबैको दायित्व भएकाले सबैले हातमा हात, साथमा साथ भएर लाग्नु पर्ने बताए ।
श्रेष्ठलाई जिल्ला समन्वय समिति, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्बीचौकी गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, कर्मचारी मिलन केन्द्र, डोटी, उच्च अदालत बार एशोसिएसन दिपायल, जिल्ला बार एकाई, शैलेश्वरी विकास क्षेत्र समिति, ब्रम्हकुमारी ईश्वरी विश्वबिद्यालय डोटी, सिलगढी खानेपानी समिति लगायतका निकायले अभिनन्दन गरेका थिए ।

स्व. दिव्य नारायण श्रेष्ठ र स्व. देव कुमारी श्रेष्ठको कोखबाट वि.सं. २०१६ सालमा जन्मनु भएका श्रेष्ठको जन्मस्थान डोटी जिल्ला सदरमुकाम सिलगढीमा भएको थियो ।
कानून तथा न्याय मन्त्रालयमा अस्थायी रुपमा वि.सं. २०३८ सालमा शाखा अधिकृतको रुपमा न्यायालयमा प्रवेश गरेका श्रेष्ठ सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा २०८० भदौ ५ गते नियुक्त भएका थिए ।
प्रधानन्यायाधीस श्रेष्ठ हाल पारिवारिक कामले डोटीमा रहेका छन् ।









