गणेश मौनी,
डोटी/सुदूरका पहाडी तीन जिल्लाहरूमा खाद्य पदार्थ अनुगमनको कार्यलाई तीव्रता दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीले चालु आर्थिक वर्षमा हाल सम्म करिब ६० पटक भन्दा बढी मात्रामा खाद्य पदार्थको बजार अनुगमन गरेको छ ।


पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले हालसम्म संयुक्त रूपमा बजार अनुगमन गर्नुका साथै ६० पटकमा एक सय ८० पसल, ४६ पटकमा एक सय ४५ होटेल रेस्टुरेन्ट, आठ पटकमा १२ वटा दूध, तेल, पानी, उद्योगको अनुगमन, ३२ पटकमा ३५ खाद्य उद्योगहरूको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीका निमित्त प्रमुख सागर सापकोटाले बताए ।
बजार अनुगमनको क्रममा ऐन बमोजिम खाद्य पदार्थको गुणस्तर मापन गर्न २५ वटा खाद्य नमुना सङ्कलन र २७ वटा खाद्य स्वच्छताको लागि सर्भिलेन्सका नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको र त्यसको रिपोर्ट केही दिनमा आउने सापकोटाले बताए । परीक्षणको लागि ल्याबमा पठाइएको सामाग्रीमा कैफियत देखिएमा कानुन बमोजिम कार्वाही हुने समेत उनले बताए ।

बजार अनुगमनमा म्याद गुज्रेका सामाग्रीहरू केही मात्रामा फेला पर्ने गरेको र भौगोलिक विकटता, उपभोक्ताहरूमा जनचेतनाको अभावका कारण अखाद्य चिज बस्तु बजारतिर पाइने गरेको निमित्त प्रमुख सापकोटाले बताए ।
खाद्य पदार्थको गुणस्तरमा सेवाग्राहीका केही गुनासा छन् भने कार्यालयमा आएर उजुरी गर्न सकिने सापकोटाले बताए । कार्यक्षेत्रका विभिन्न जिल्लाहरूमा अनुगमनको क्रममा खाद्य उद्योग तथा पानी उद्योगको अनुज्ञा पत्र नवीकरण तथा नयाँ जारी गर्नका लागि स्थलगत निरीक्षण गरी सुधारका लागि निर्देशन दिने गरेको समेत बताए ।
जनशक्ति अभाव, कार्यक्षेत्र पहाडी तीन जिल्ला हेर्नुपर्ने बाध्यताका बावजुत अनुगमनको कार्यलाई निरन्तरता दिएको र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना पश्चात् बजार अनुगमनमा सहजता भएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
जिल्लामा संयुक्त रूपमा हुने अनुगमनमा सबै क्षेत्रका विज्ञहरूको आवश्यक पर्नुका साथै खाद्यको अझ धेरै भूमिका भएकोले अनुगमनमा सहजता भएको समेत प्रजिअ अर्यालले बताए ।









