डोटी/के.आई.सिंह गाउँपालिकाले किसानहरुलाई मिनि पावर टिलर वितरण गरेको छ । यात्रिकरण कार्यक्रम अन्तर्गत बुधबार पालिका भित्रका ९ जना किसानहरुलाई मिनि पावर टिलर वितरण गरेको कृषि विकास शाखाका प्रमुख यज्ञ बहादुर रावलले जानकारी दिए ।
५० प्रतिसत अनुदानमा ११ वटा पावर टिलर ल्याएपनि आज ९ जनालाई मात्र वितरण गरिएको र दुई जनालाई केहि दिनमा दिइने रावलले जानकारी दिए ।


मिनि पावर टिलर वितरण गर्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आधुनिक कृषि प्रबिधिलाई प्राथमिकता दिने उद्देश्यले पालिकाले किसानहरुलाई कृषि यान्त्रिकरण वितरण गरेको बताए । उनले किसानलाई अर्गानिक खेतीमा आकर्षित हुन समेत आग्रह गरे ।
वितरण गर्दा किसानहरुलाई खेतमा प्रयोग गराइएको थियो । पावर टिलर पाएपछि वडा नम्बर ३ का किसान बहादुर बडैलाले खेतबारी जोत्न सहज हुने बताए । ‘गोरुले खेत जोत्न असाध्यै मेहनत गर्नुपथ्र्यो,’ बडैलाले खुसी व्यक्त गर्दै भने, ‘अव खेतबारीमा एक्लैले खनजोत गर्न सजिलो हुने आशा छ ।’
एउटा पावर टिलरको ७५ हजार मुल्य परेको र त्यसमा ५० प्रतिशत पालिका तथा ५० प्रतिशत कृषकहरुको लगानी रहेको कृषि विकास शाखा प्रमुख रावलले बताए ।









