सिलगढी/डोटी जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षाको तयारी पुरा भएको छ । भोलिदेखि संचालन हुने परिक्षामा जिल्लाभरी प्राविधिक तर्फका सहित नियमित तर्फ तीन हजार दुई सय ७० र ग्रेडबृद्धि तर्फ ५८ गरी जम्मा तीन हजार तीन सय २८ विद्यार्थीहरू सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख राम दत्त भट्टले जानकारी दिनु भएको छ ।
डोटी जिल्लामा १२ वटा परीक्षा केन्द्र रहेका छन् । त्यसैगरी परिक्षामा जिल्लाभरी जम्मा चार सय ८५ जना कर्मचारी परिचालित हुने बताइएको छ । जसमा केन्द्रध्यक्ष १२ जना, सहायक केन्द्राध्यक्ष २३, निरिक्षक एक सय ६७, सुरक्षाकर्मी एक सय ८०, सहायक कर्मचारी ३५, सहयोगि ६८ जना रहने भएका छन् ।

डोटीमा सबै भन्दा बढी विद्यार्र्थी रहेको राधाकृष्ण माध्यामिक विद्यालय गोपघाट परीक्षा केन्द्रमा चार सय ९८ जना विद्यार्थी रहेका छन् । त्यसैगरी क्रमशः सरस्वती मावि सानागाउँ परीक्षा केन्द्रमा तीन सय ४४ जना, पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढी परीक्षा केन्द्रमा तीन सय ४१ जना, दिल्पेश्वर मावि दिपायल परीक्षा केन्द्रमा तीन सय ६९ जना, सुजङ्ग बोर्डिङ स्कुल राजपुर परीक्षा केन्द्रमा तीन सय ७३ जना, ओम आधारभूत विद्यालय सायल परीक्षा केन्द्रमा दुई सय २७ जना रहेका छन् ।
त्यस्तै शारदा मावि मौवा परीक्षा केन्द्रमा दुई सय ९४ जना, झिमेमालीका मावि वायल परीक्षा केन्द्रमा दुई सय ३३ जना, खत्याडी मावि खत्याडी परीक्षा केन्द्रमा एक सय ४५ जना, रामपुर मावि बुडर परीक्षा केन्द्रमा एक सय ७२ जना, दुर्गा मावि लमौते परीक्षा केन्द्रमा एक सय २२ जना र बर्छैन मावि बर्छैन परीक्षा केन्द्रमा दुई सय १० जना विद्यार्थीहरु रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।
परिक्षार्थीहरुलाई भयरहित वातावरणमा निर्धक्क र शान्तिपूर्ण वातावरणमा परिक्षामा सहभागि हुन शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भट्टले आग्रह गर्नुभएको छ । परिक्षार्थीहरुलाई परिक्षा दिन जाँदा साथमा मोबाईल, डिजिटल क्याल्कुलेटर नलगिदिन समेत भट्टले आग्रह गर्नु भएको छ । यदि त्यस्तो पाइएमा कानून बमोजिम कार्वाही हुने समेत उहाँले बताउनु भयो । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।









