डोटी/भारत सरकारको सहयोगमा बन्न लागेको क्याम्पस भवनको शिलान्यास गरिएको छ । भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो ।


बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरु सहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि सहयाेग गरिएको दूतावासले जनाएको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र बडीकेदार गाउँपालिका मार्फत कार्यान्वयन गरिएको हो । कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
भारतीय दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा ४ वटा परियोजना डोटीमा छन् ।









