गणेश मौनी,
बडीकेदार गाउँपालिकाको मुख्य प्रशासनिक भवन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् ।
पालिकाको कार्यालय रहेका वडा नम्बर २ खड्यौलीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरिएको थियो ।


भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि स्थिर सरकार आवश्यक भएकाले स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरूसँग आफूले पहल गरी रहेको बताए ।

उनले भने निर्वाचनको बेला जनताबिच स्थिर सरकार बनाउने वाचा गरेको स्मरण गर्दै त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढेको बेला केही परिवर्तनको सङ्केत देखिएको बताए । बडीकेदारको शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी, ऊर्जा, पर्यटन लगायतको विकासको लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने समेत बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि डोटी क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्य शिव सिंह ओलीले बडीकेदार गाउँपालिका कृषि, पशुपालन, जडीबुटी, पर्यटनको क्षेत्रमा उच्च सम्भावना बोकेको क्षेत्र भएकोले यिनीहरूको प्रवद्र्धन तथा अन्य विकास निमार्णका कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइने बताए ।

गाउँपालिकाको नयाँ भवन निमार्ण भए पश्चात सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष भवन उद्घाटन कार्यक्रमका सभाध्यक्ष भैरव बहादुर साउँदले बताए । अध्यक्ष साउँदले कार्यक्रममा सहभागी प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाह सँगै डोटी क्षेत्र नम्बर ‘ख’ का सुदूरपश्चिम प्रदेश सभासद् शिव सिंह ओली, राजनीतिक दलका प्रमुख प्रतिनिधि, पूर्व जनप्रतिनिधि, छिमेकी पालिकाका जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहने भएको छ । कार्यक्रममा देउडा कलाकारहरूद्वारा देउडा प्रस्तुत गरिनुका साथै स्थानीय स्तरमा रहेका मौलिक कलाहरू पनि प्रस्तुत समेत गरिएको थिए ।
संघिय सरकारको समपूरक अनुदानबाट पालिकाले दुई करोड ५७ लाख रुपियाँ लागतमा १६ कोठाको दुई तले प्रशासनिक भवन निर्माण गरेको हो ।









