धनबहादुर बोहरा,
सिलगढी/जिल्ला अस्पताल डोटीमा आइतबारदेखि संचालन भएको निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर बिहिबार सकिएको छ । उक्त पाँच दिने निःशुल्क शिविरमा एक हजार ६ सय ८५ जनाले सेवा पाएका छन् ।


शिविरमा एक हजार ६ सय ८५ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ भने ७७ जनाको शल्यक्रिया गरिएको जिल्ला अस्पता डोटीका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुजीत कुमार मण्डलले जानकारी दिएका छन् ।
मेड–सोलुशन फाउण्डेसन स्वीजरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिकल अस्पताल जोरपाटी काठमाण्डौं, जिल्ला अस्पताल डोटी र दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा संचालन भएको शिविरमा नेपाल अर्थोपेडिकल अस्पताल जोरपाटीका सिनियर कन्सल्टेण्ट वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर प्रकाश ज्ञवालीको नेतृत्वमा २५ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । शिविरमा विदेशी डाक्टर क्याट्रिन हेगनले समेत सेवा दिएका थिइन ।

शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा विकृतिजन्य समस्याहरू, हात खुट्टा भाँचिएका, भाँचिएर बाङ्गिएर जोडिएका, रड, पाता वा किला निकाल्ने, आगोले पोलेको, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्ने समस्याको उपचार दिइएको थियो ।
शिविरबाट सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम र बाजुराका बिरामीहरुले सेवा लिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिए ।









