दिपायल/डोटीमा १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आईतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गरेका थिए ।
दिपायल स्थित दिल्पेश्वर मठको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री देउवाले यो प्रतियोगिता संघिय प्रणाली अनुरुप विद्यालय तहमा अध्ययनरत विद्यार्थी खेलाडीहरुलाई खेलका माध्यमबाट आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ठ अवसर रहेको बताए ।


खेलकुदले बालबालिकाको मानसिक, मनोवैज्ञानीक, बौद्धिकता, स्वास्थ्य लगायतका कुरामा अब्बल बनाउने भएकाले सबैले खेलाडीहरुले अनुसाशीत र मर्यादित भएर खेल्नु पर्ने मन्त्री देउवाले बताए ।
‘प्रदेश सरकारले खेलकुदमा बजेट विनीयोजित गरेर बर्षभरी खेलाडीहरुले खेल्ने वातावरण सृजना गर्नका लागि स्थानीय स्तरमा खेल मैदान, बहुउद्देश्यीय कवर्डहलहरु निर्माण गर्ने रणनिति लिएको छ’, मन्त्रीले देउवाले भने, ‘प्रदेश सरकार खेल जगतको विकासका लागि योजनाबद्ध ढंगबाट अगाडि बढीरहेको छ ।’
खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, वैदेशीक लगानी भित्र्याउन मद्दत पुग्ने उनले बताए । ‘रोजगारी सृजना गर्ने तथा खेलकुदको क्षेत्रको विकासले सामाजिक एकता, समृद्धिको आधारशिलता तथा आन्तरिक पर्यटनमा टेवा पु¥याउने हुँदा प्रदेश सरकारले फागुन महिनामा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रलाई महत्व दिएका छौं’, मन्त्री देउवाले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद शिवसिं ओलीले सुदूरपश्चिम सरकारले विद्यालयदेखि ओलम्पीकसम्मको नारा दिएर अभियान संचालन गरेको बताए । ओलीले राजपुर र बुडरको खेल मैदानलाई प्रदेश सरकारले डोटी जिल्लाको प्रमुख र प्रादेशीक खेल मैदानका रुपमा विकास गर्नुपर्ने बताए । उनले उत्कृट हुने टीमलाई हौसला स्वरुप नगर १५ हजार रुपैंया दिने घोषणा समेत गरेका छन् ।

त्यसैगरी अर्का प्रदेश सांसदले चक्र मल्लले पहिले खेलकुद विकास समिति रहेको र अहिले खेलकुद समितिमा मात्रै सिमित राखेको छ, जिल्लामा कुनै स्रोत साधन दिइएको छैन, यदि थोरै भएपनि स्रोत साधनबाट व्यवस्थित भइदिएको भए खेलाडीमा पनि उर्जा थपिने बताए । उनले बिश्वका अधिकांश राष्ट्रहरु खेलकुदको माध्यमबाट समृद्ध, सुपरिचित भएकाले हाम्रो प्रदेशले पनि त्यो कुरालाई मनन् गर्दै खेलकुदमा राम्रो बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले खेलकुदमा बजेट अभावका कारण प्रतियोगिता संचालन गर्न समस्या भइरहेको र पालिकासंग मागेर चलाउनु पर्ने बाध्यता रहेको बताए । शाहीले ११ औं राष्ट्रिय खेलकुदको आयोजना सुदूरपश्चिममा हुने चर्चा चलिरहँदा यदि सबैको पहलमा डोटीमा एउटा बहुउद्देश्यीय कवर्डहल, दिल्पेश्वर खेलमैदान, राजपुर खेलमैदान निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ भने ११ औं राष्ट्रिय खेलकुदका आधी खेलहरु डोटीमा खेलाउन सकिने बताए ।

‘जिल्लाको अफिस छ तर कार्यालय कोर्ट छैन’, शाहीले भने, ‘निर्माणका लागि प्रदेश सरकारले चासो राखिदिनु पर्नेछ ।’ प्रदेश सरकारले प्रत्येक पालिकामा खेलमैदानको निर्माण गरिदिनु पर्ने समेत उनले बताए ।
१४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नौवटै पालिकाबाट टीमहरुको सहभागी भएका छन् भने प्रतियोगिता १६ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भलिबल, कराते, एथलेटिक्स, तेक्वान्डो र कबड्डी खेलहरु समावेश भएका छन् ।









