धनबहादुर बोहरा,
सायल गाउँपालिकाले विगतका वर्ष देखि संचालन गर्दै आएका कामहरु र आगामी वर्षका योजनाका वारेमा छलफल गर्न सायल सरकार जनताको घरदैलो अभियान तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।
गाउँपालिकाको वडा नं. ६ को दल्लेखवाट उक्त कार्यक्रमको शुरुवात गरेको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मराज जोशी, वडा नं ३ का वडा अध्यक्ष तथा सायल गाउँपालिका प्रवक्ता नवराज उपाध्याय र सायल गाउँपालिका कार्यपालिका सदस्य डम्वर विकको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा सायल गाउँपालिका वडा नं. ६ का सयौ नागरिकको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीवाट आएका गुनासा र सुझावहरुलाई सम्वोधन गर्दै सायल गाउँपालिका कार्यपालिका सदस्य डम्वर विकले सायल गाउँपालिकाले सुशासन, पारदर्शीता, सहभागीता र जवाफदेहीतामा काम गर्दै आएको कुरा वताएका छन । हालको कार्यपालिकाले निर्वाचित भएको दिन देखि सायल गाउँपालिकावाट संचालन गर्दै आएका कामहरुमा सहभागीता, सुशासन, पारदर्शीता र जवाफदेहीतालाई जोड दिदै आएको छ । पालिकावाट संचालन हुने हरेक कार्यक्रममा दलित, महिलाहरुको सहभागीता सुनिश्चित गर्दै आएको छ ।
त्यसै गरि कार्यक्रममा सायल गाउँपालिका प्रवक्ता तथा वडा नं ३ का वडा अध्यक्ष नवराज उपाध्यायले सहभागीहरुलाई भने- हामीहरु तपाईहरुको नौकर हौं, तपाईहरुले चाहेमा हामीलाई अझै माथिल्लो पदमा पठाउनका लागि सहयोग गर्नु हुन्छ भने तपाईहरुले नचाहेमा वा हामीले आम नागरिकको हितमा काम गर्न नसकेमा नागरिकहरुले हामीलाई कहिले पनि माथि नउठ्ने गरेर पछाडी पार्न सक्नु हुन्छ, त्यसैले हामी जनताको काममा कटिवद्ध भएर काम गर्छौ । जहिले पनि सायल वासी नागरिकहरुलाई शिरोधार गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि तथा सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्दै हालसम्म सायल गाउ कार्यपालिकाले वडा नं. ६ खातिवाडाको विकासका लागि गरेका विभिन्न विकासका कामको वारेमा चर्चा गर्नु भएको थियो । जसमा वडा नं ६ मेल्लेकमा सामुदायिक आधारभूत स्वास्थ्य सेवाको लागि भवन निर्माणको लागि जमिन खरिद गरेको तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न सहयोग गरको छ । साथै उक्त कार्यक्रममा मेल्लेकमा सामाजिक सुरक्षाभत्ता वितरणको लागि मेल्लेखमा शाखा रहित वैंक स्थापना गरि सेवा दिएको, सामुदायिक आधारभूत स्वास्थ्य सेवा केन्द्र दल्लेखमा वर्थिंग सेन्टर निर्माण गरि सेवा दिईरहेको, हिमालय माध्यमिक विद्यालय दल्लेखमा चारकोठे भवन निर्माणको लागि सहयोग गरेको, सायल गाउँपालिकाले पालिका भरि रहेका विद्यालयहरुमा ल्यापटप नभएका विद्यालयहरुमा ल्यापटप वितरण गरिएको लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।









