डोटी,
४५० मेगावाटको सेतीनदि ६ (एसआर सिक्स) परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फुड्सिल गाउँपालिका बिच सम्झौता भएको छ ।


प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा आफै गाउँपालिकामा पुगेर मन्त्रीको उपस्थितिमा सम्झौता भएको हो । यसलाई ऐतिहासिक सम्झौता भनिएको छ । पालिकामै प्रदेश सरकार आएर सम्झौता पत्रमा हस्ताक्षर भएको सम्भवतः यो देशमै पहिलो अभ्यास भएको बताइएको छ ।
पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्य अध्ययनका लागि भारतीय कम्पनी एनएचपीसीसंग लगानी बोर्डको सम्झौता भए अनुसार सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्रसम्म सडक मार्ग नभएकाले कठीनाइ भइरहेको गुनासो लगानी बोर्डसंग गरेपछि सो क्षेत्रमा जाने खत्याडी–मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकार बीच सम्झौता भएको भौत्तिक पूर्वाधार विकास मन्त्री देउवाले बताए ।

आइतबार अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति मान वहादुर रावल, प्रदेश सभा सदस्य शिब सिं ओली सहित मन्त्रालयको टोली लिएर मन्त्री देउवा बोगटान फुड्सिल गाउँपालिका पुगेका थिए । मन्त्री देउवाले सडक निर्माण हुने क्षेत्रको अनुगम समेत गरेका थिए ।
सेती नदि ६ परियोजना डोटीको समृद्धि र विकासका लागि कोसेढुंगा सावित हुने भएकाले प्रदेश सरकार जुनसुकै भूमीका निर्वाह गर्न तयार रहेको उनले बताए ।
सोहि क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य शिव सिं ओलीले प्रदेश सरकार र स्थानीय सरकारबीच यसरी सम्झौता गरिएको पहिलो योजना रहेको बताउँदै सेती ६ परियोजना अध्ययनमा सबैले भूमीका खेल्नुपर्ने बताए । उनले बोगटान सडकको अधुरो काम र विभिन्न खोलाहरुमा रहेका पुल निर्माणका लागि प्रदेश सरकारसंग माग समेत राखेका छन् ।

सम्झौता पत्रमा सो सडक निर्माणका लागि वातावरणिय प्रभाव अध्ययन सम्बन्धिका सम्पूर्ण कार्य लगायतका अन्य केहि समस्या आए पालिकाले समाधान गर्नुपर्ने र सडक निर्माणका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले व्यहोर्ने उल्लेख छ ।
गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाले सो सडकको डिपीआर पालिकाले तयार गरिसकेको जानकारी दिँदै यसै आर्थिक बर्षभित्र वातावरणिय प्रभाव अध्ययन सम्पन्न गरिसक्ने जानकारी दिए । १५ किलोमिटर लम्बाइ रहेको सो सडक नहुँदा हाल अध्ययनका लागि आएको भारतीय कम्पनी एनएचपीसीका प्राविधीकहरु घण्टौ पैदल हिँडेर काम गरिरहेका छन् ।
एनएचपीसीले पश्चिम सेती र सेती नदि ६ परियोजनाका लागि दिपायलमा कार्यालय खडा गरि काम गर्दै आइरहेका छन् । तत्कालिन अवस्थामा प्रधानमन्त्री हुँदा शेर बहादुर देउबाले सेती नदि ६ परियोजनाको ४५० र पश्चिम सेतीको ७५० मेगावाटको संयुक्त रुपमा अध्ययनका लागि एनएचपीचीलाइ अनुमति दिएका थिए ।









