सिलेट खबर/जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।
रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ भने जाजरकोटमा ९२ जनाको ज्यान गएको छ ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन् । रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो ।
गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो क्षेत्रमा राति १२ः०८ बजेमा ४.५ रेक्टर स्केल, १२ः२९ बजेमा ४.२ रेक्टर स्केल, १२ः३५ बजेमा ४.३ रेक्टर स्केल, आज बिहान ४ः१६ बजेमा ४.६ रेक्टर स्केलका भूकम्प गएका थिए ।









