बन्दना बम,
डोटी/नेपाली कांग्रेस डोटीको यहि असोज २४ गते सम्पन्न हुने महासमिति सदस्य निर्वाचनको तयारी पुरा भएको डोटी कांग्रेसले जानकारी दिएको छ ।
२४ गते हुने निर्वाचनको लागि आज मनोनयन दर्ता प्रक्रिया हुने निर्वाचन समितिका सूचना अधिकृत लभदेव भट्टले जानकारी दिए । ५ जना खुल्ला सदस्य, २ जना महिला खुल्ला सदस्य र ४ जना आरक्षण सदस्य गरी जम्मा ११ जना महासमिति सदस्यको लागि निर्वाचन भईरहेको नेपाली कांग्रेस डोटीका उपसभापति नारायण प्रसाद जोशीले जानकारी दिए ।

नेपाली कांग्रेस डोटीले महासमिति सदस्यहरु आन्तरिक रुपमा छनौट गर्न नसकेपछि निर्वाचनमा जानुपरेको बताइएको छ । कतिपय नेताहरुले नेतृत्वको कमजोरीका कारण निर्वाचनमा जानु परेको र सबैलाई दुःख तथा खर्चिलो भएको बताएका छन् भने केहि नेताले निर्वाचननै हुनुपर्ने बताएका छन् ।
निर्वाचन हुने भएपछि अहिले कांग्रेसका नेता तथा कार्यकर्ता सबै जिल्ला भित्रिएका छन् । योसंगै दिपायल, सिलगढीमा चहलपहल समेत बढेको छ । अधिकांश समय जिल्ला बाहिर बस्ने नेताहरु समेत अहिले जिल्ला भित्रिएका छन् ।
राजपुर स्थित सेती सभाहलमा हुने निर्वाचनमा जिल्लाभरीबाट जम्मा मतदाता संख्या करिब साढे ११ सय रहेका छ । जिल्ला कार्य समितिको निर्वाचनामा सहभागि भएका मतदाताहरु सबै यो निर्वाचनमा पनि सहभागि हुने भएकाले कार्य समितिको निर्वाचनको झल्को दिइरहेको पाइन्छ ।









