सिलेट खबर,
डोटीको जोरायल गाउँपालिका २ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. ५ हजार घुस सहित पक्राउ परेका छन् ।
निजी आवादी जमीनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिंदै गर्दा स्थानीयबासिन्दाले उनलाई रङ्गेहात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।


दाउरा व्यवसायी भण्डारीका अनुसार स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमीनबाट कानुनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि पटक पटक छुटपुर्जी माग गर्दा दाउराको प्रति के.जी.का हिसाबले रकम माग गरेपछि रु. १० हजार यस अगावै लिइसकेको बताए । त्यति गर्दा पनि सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरी रकम माग गरेपछि आज रु. ५ हजार लिने क्रममा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए ।
गिरीलाई अहिले विस्तृत अनुसन्धानका लागि सोधपुछ गर्ने काम भइरहेको र वास्तविकता बारे केहि समयपछि मात्रै जानकारी गराउन सकिने इप्रका बुडरका इञ्चार्ज नरभान साउँदले जानकारी दिए । यद्यपी सहायक वन अधिकृत गिरीले छुटपुर्जीका लागि यसभन्दा पहिले नै रु. १० हजार र आज रु. ५ हजार गरी १५ हजार रुपैंया लिएको स्विकार सहित प्रहरी समक्ष जानकारी दिएको बुझिएको छ । अहिले रकम दिने व्यक्तिलाई पनि इप्रकामा बोलाईएको र दुवै पक्षबाट विस्तृत जानकारी लिई जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरिने साउदले बताए ।









