बन्दना बम,
डोटी/समाजमा हुने सुरक्षित गर्भपतन सम्बन्धिका घटनाहरुका बिषयमा पछिल्लो समय स्थानीयहरुको धारणामा निकै परिवर्तन आएको पाइन्छ । आम मानिसहरुको चेतनाको स्तर बृद्धि भएसंगै सुरक्षित गर्भपतन सम्बन्धि पुरातन सोचमा समेत बदलाव आएको छ ।
डोटी जिल्लाका स्थानीय स्तरमा समेत पछिल्ला केही वर्ष यता सुरक्षित गर्भपतन सेवा संचालनमा आएका छन् । जिल्लाका नौवटै स्थानीय तहका २९ वटा स्वास्थ्य संस्था र जिल्ला अस्पतालबाट सुरक्षित गर्भपतन सेवा दिदै आईरहेको छ । २०७३ साल मंसिर महिना देखि जिल्लामा सेवा दिन शुरु गरेको हो । जिल्लामा सुरक्षित गर्भपतन सेवा सुरु गरेसंगै अनिइच्छित र अवैध गर्भ फाल्न जिल्ला बाहिर जाने व्यक्तिहरुको संख्यामा भने निकै कमी आएको पाइन्छ ।

जिल्लाको केआईसिंह गाउँपालिकामा ७ वडाहरु रहेका छन र ति मध्येमा हाल ५ वटा स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा दिदै आईरहहेको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भिष्मराज पाण्डेयले जानकारी दिए । सुरक्षित गर्भपतन सुदृढीकरण परियोनाद्वारा संचालित विभिन्न कार्यक्रमहरुबाट पनि धेरै विषयको बारेमा किशोर किशोरी देखि आमा समुहका सबैलाई सुरक्षित गर्भपतनको बारेमा जानकारी हुदै गएको समेत प्रमख पाण्डेयले बताए ।
आर्थिक बर्ष २०७९ /०८० सम्म ६६ जनाले सुरक्षित गर्भपतन सेवालिएको तथ्यांक गाउँपालिकासंग रहेको र केही सेवा लिन गाउँपालिका बाहिर पनि जाने गरेको सुरक्षित गर्भपतन सेवा दिंदै आईरहेकी अनमी जयन्ती विठाडीले बताइन । सामुदायिक विकास मञ्च (सिडिएफ) बाट संचालित सुरक्षित गर्भपतन सुदृढीकरण परियोजनाले किशोर किशोरी र आमा समुहमा गर्भपतन र अस्थायी साधनबारे छलफल गर्दै आईरहेको अनमी विठाडीले बताइन् ।

‘कक्षा आठमा पढ्दै गर्दा आफुले पनि सुरक्षित गर्भपतन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागि हुने मौका पाएको थिए’, स्थानीय कावती बोहराले भनिन, ‘तर त्यति बेला अभिमुखिकरणमा सुरक्षित गर्भपतन बारे जानकारी दिदा साह्रै लजाएकी थिए तर विस्तारै बुझ्दै जाँदा त हाम्रै स्वास्थ्य सम्बन्धिको कुरा रहेछ ।’ अहिले गाउँ, समुदायमा यदि कसैलाई त्यस्तो समस्या परेमा आफुले सुचिकृत संस्थाबारे जानकारी दिने गरेको र त्यस्ता संस्थामा जान भन्ने गरेको बोहराले बताइन् ।
‘पहिले गर्भपतन बारे थुप्रै गलत धारणाहरु थिए, गर्भपतन गराएका महिलाहरुले पुजा साम्रगी छुनु हुदैन, मन्दिर जान हुँदैन लगायतका लाल्छना लगाइन्थ्यो’, स्थानीय किशोरी निर्मला बिष्टे भनन्, ‘सुचिकृत संस्थाको बारेमा म जस्तै किशोर किशोरीलाई जानकारी हुन एकदमै आवश्यक छ केही समस्या परे पनि निशुल्क र गोप्य तरिकाले सुरक्षित गर्भपतन गरिन्छ र कसैलाई थाहा पनि हुदैन ।’ यस्ता समस्यामा परेका किशोरीहरुले समाज र परिवारको डरले पहिले पहिले आत्महत्या समेत गर्दथे तर त्यो चाहिँ अहिल घटेको विष्टले बताइन ।
पहिले आफु किशोर किशोरीको समुहको अध्यक्ष थिए र त्यसमा रहेर काम गर्दा थुप्ै कुराहरुको बारेमा जान्ने र बुझ्ने मौका पाए ।, यस्ता कार्यक्रममा हामी जस्तै सबै किशोरीले सहभागि हुने मौका पायौं भने समाजमा हुने धेरै जस्ता नकारात्मक क्रियाकलापमा पनि कमी आउने उनको भनाई छ ।
बालविवाह, छाउपडी कुप्रथाजन्य कुरीति, प्रजनन् स्वास्थ्य, घरेलु हिंसा, कानुनी व्यवस्था र सुरक्षित गर्भपतनका सम्बन्धमा सुरक्षित गर्भपतन सुदृढीकरण परियोजनाले दिपालयमा आयोजना गरेको कार्यक्रममा सहभागि भएपश्चात थाहा पाएको भुमिराज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत, जागरण युवा संचालनकी सचिव निशा खड्काले बताइन् । गाउँमा रहेका यस्ता किसिमका समुहहरुमा जनचेतनामुलक कार्यक्रम, अभिमुखिकरण र गोष्टी हुन आवश्यक भएको सचिव खड्काको भनाई छ । यस्ले किशोर किशोरी युवा समुहमा आवद्ध भएकालाई अझ सचेत बन्न मद्दत मिल्ने उनको बुझाइ छ ।
केआईसिंह वडा नम्बर ३ बासुदेवीकी स्वास्थ्य स्वयमसेविका सिर्जना विकले समुदायको डक्टर भएर आफु सेवा गर्दै आईरहेको उनको भनाई छ । आफुहरुलाई समुदायले डक्टर नै भन्ने गरेको उनी बताउछिन । विद्यालयबाट छुटेका किशोर किशोरीहरुलाई पनि प्याडहरु उपलब्ध गराउने साथै सुरक्षित गर्भपतन बारे जानकारी दिदै आईरहेको बिकले बताइन ।
वडा नम्बर ५ की माया देवी रावल पनि विगत १४ वर्ष देखि समुदायमा स्वयम सेविका भएर सेवा गर्दै आइरहेकी छन् । पहिले र अहिलेमा धेरै परिर्वतन भएको उनले सुनाइन ।- ‘पहिले गर्भपतन बारे आफुहरुलाई पनि त्यति जानकारी थिएन र गाउँमा पनि यदि कसैलाई बच्चा नचाहिए पनि गर्भ रहिहाल्यो भने कि त जन्माउनु पथ्र्यो कि त घरेलु जडिवुटी प्रयोग गरेर फाल्नु पथ्र्यो’, रावलले भनिन्, ‘तर अहिले गाउँमै सुरक्षित गर्भपतन सेवा उपलब्ध हुदाँ भने निकै सहज छ ।’
आफ्नो सुमदायका किशोर किशोरी र महिला दिदीबहिनीहरुलाई सुरक्षित गर्भपतन सेवाबारे जानकारी दिदै आएको र चार जनाले त सो सेवा समेत लिएको सामुदायिक अगुवा यशोदा महाराले बताइन ।
नौ वटा स्थानीय तह रहेको डोटी जिल्लामा के.आई. सिंह र सायल गाउँपालिका गरी दुईवटा पालिकामा २०७८ देखि सुरु भएको सुरक्षित गर्भपतन सुदृढीकरण परियोजनाले समुदायमा सुरक्षित गर्भपतन सम्बन्धिका विभिन्न क्रियाकलापबाट गाउँका महिला, पुरुष र किशोर किशोरीहरुलाई जनचेतना जगाई रहेको परियोजना अधिकृत मधु पोखरेलले बताइन । कार्यक्रममा सहभागि किशोर किशोरीहरुले आफुले सिकेका कुरा समुदायका अन्य व्यक्तिहरुलाई समेत जानकारी गराउने गरेको पोखरेलले बताइन ।
गर्भपतन गराउन महंगो शुल्क तिरेर निजी मेडिकल तथा अस्पताल धाउनेहरुको समेत संख्या घटेको बासुदेवी स्वास्थ्य चौकीमा कार्यरत अनमी चित्रा रानाको भनाई छ । ‘पहिलेको तुलनामा समाजमा निकै परिर्वतन आएको छ ।, हामीलाई नै यस सम्बन्धी कुरा गर्न पहिले त धेरैलाज लाग्थ्यो, केही कुरा थाहा पाए पनि सहजै भन्न सक्दैनथे तर अहिले सबैलाई खुलेरै जानकारी दिन सक्ने भएका छौं’, हरियाली आमा समुहकी अध्यक्ष कमला कुमारी रावलले बताइन ।
यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा गाउँमा अझै केहि समस्या देखिएको भएपनि त्यस्ता बिषयलाई विशेष प्राथमिकतामा राखि पालिकाले आवश्यक बजेट ब्यवस्थापन गर्ने केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । किशोर किशोरीका सवालहरुलाई विशेष प्राथमिकता दिई आवश्यक कार्यक्रमको ब्यवस्थापन गर्ने समेत उनले बताए ।









