खगेन्द्रबहादुर सिंह
डोटी/पर्यटकीय क्षेत्र खप्तडदेखि प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता दोस्रो संस्करण हुने भएको छ ।
जेठ १६ गते खप्तड क्षेत्रमा लाग्ने गंगा दशहरा मेलाको अवसरमा १२ गतेदेखि १७ गतेसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता लगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिने भएको हो ।


तीन हजार तीन सयको उचाईबाट प्रतियोगिता हुने भएकाले हाई अल्टिच्युड भनिएको आयोजकले जानकारी दिएको छ । म्याराथन प्रतियोगितामा कम्तीमा ४२.५ किलोमिटर दुरी हुनपर्ने नियम भएकाले सोहि अनुसारको दुरीमा प्रतियोगिता गराइने आयोजकले जानकारी दिएको छ । खप्तडको प्रबेशद्वार झिग्रानादेखि शैलेश्वरीसम्म महिलाहरुका लागि हाफ म्याराथन समेत हुने भएको हो ।
डोटी उद्योग बाणिज्य संघ तथा सुदूरपश्चिम खेलकुद परिसद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूणर् व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरब प्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन् ।
म्याराथन प्रतियोगिता जेठ १७ गते बिहान ६ बजेदेखि खप्तड क्षेत्र हुँदै शैलेश्वरीसम्म तथा सोहि समयमा झिग्रानादेखि शैलेश्वरीसम्म महिला हाफ म्याराथन संचालन हुने भएको हो । पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै संचालन गरिने भएको छ । गोडा दौड प्रतियोगिता जेठ १५ गते हुने भएको छ भने देउडा प्रतियोगिता १६ गते राती हुने भएको डोटी उद्योग बाणिज्य संघका महासचिब दिपक बहादुर खड्काले जानकारी दिए ।
अनुमानित खर्च २६ लाख आठ हजार पाँच सयमा हुन लागिएका प्रतियोगिताको लागि आर्थिक सहयोग डोटीका सम्पूणर् स्थानीय तह तथा खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले गर्ने बएका छन ।
प्रतियोगिताको अवधिमा कम्तीमा ३ सय खेलाडी, १० हजारभन्दा बढीको संख्यामा धार्मिक तथा खेलप्रेमी पर्यटकहरुको खप्तड क्षेत्रमा भ्रमण तथा अवलोकन गराइने लक्ष्य लिएको उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए ।
खुल्ला प्रतियोगिता भएकाले म्याराथनमा प्रतियोगितामा सुदूरपश्चिम भित्रमा प्रत्येक जिल्लाबाट खेलाडीहरु भाग लिने र ७ देखि १० जनाजति बिदेशी खेलाडीसमेत आउने निश्चित भएको श्री भैब प्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले जानकारी दिए । म्याराथनका लागि नौ वटै जिल्लाबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका एक एक जना गरी २७ जना, नौ वटै जिल्लाका जिल्ला खेलकुदको सिफारिसमा दुई जना महिला र दुई जना पुरुष गरी ३६ जना सहभागि हुने छन् । त्यसैगरी डोटी जिल्ला आयोजक भएकाले यस जिल्लाबाट केहि बढीको संख्यामा खेलाडी सहभागि हुने कार्कीले जानकारी दिए ।
म्याराथनको लागि खुल्ला तर्फ ६० जना र बिभागिय तर्फ करिब ४० जना गरी बढीमा १०० जनाको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिताको हिसाबमा हाई अल्टिच्युड म्याराथन प्रतियोगिता नेपालमै पहिलो प्रतियोगिता रहेको कार्कीले बताए ।

म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार नगद पुरस्कार दिइने भएको छ । द्वितीयलाई ८० हजार नगद तथा तृतीय हुनेलाई ५० हजार दिने बताइएको छ भने सान्त्वता हुने ७ जनालाई क्रमशः १०, ९, ८, ७, ६, ५ र ४ हजार नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी हाफ म्याराथन (महिला) मा प्रथम हुनेलाई ५० हजार नगद, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ । सान्त्वना हुने २ जनालाई ५ हजार र २ हजार दिईने बताइएको छ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार नगद रहेको छ । त्यसैगरी घोडा दौड प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद पुरस्कार दिइने भएको छ भने देउडामा प्रथम हुने एक जनालाई एक लाख नगद पुरस्कार दिइने जानकारी दिएको छ ।









