बन्दना बम,
डोटीका ग्रामीण भेगहरुमा सुरक्षित गर्भपतन सम्बन्धिका सेवाले महिलाहरुलाई सहजता भएको पाइएको छ । पछिल्ला पाँच वर्ष देखि सुरक्षित गर्भपतन सम्बन्धीका जनचेतनामुलक कार्यक्रम संचालन भइरहेकाले समेत असुरक्षित गर्भपतन गराउनेमा कमी देखिएको छ । सुरक्षित गर्भपतन सम्बन्धि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम संचालन गरेर समुदायमा सकारात्मक धारणा आएको पाइएको छ । सुरक्षित गर्भपतन सम्बन्धिको सचेतनामुलक कार्यक्रम जिल्लाका केआईसिंह गाउँपालिका र सायल गाउँपालिकामा संचालनमा रहेका छन् ।


सामुदायिक विकास मञ्च (सिडिएफ) डोटी र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुुदृढिकरण परियोजना कार्यक्रमबाट सुरक्षित गर्भपतन सम्बन्धिका धेरै कुरा सिकिएको सायल गाउँपालिकाका किशोरीहरुको भनाई छ । कार्यक्रममा सहभागि भए पछि धेरै कुरा थाहा पाएको कक्षा ९ मा अध्ययनरत छात्रा विमला बोहराले बताइन् ।
पहिले आफुलाई गर्भपतन बारे केही कुरा पनि थाहा नभएको र कार्यक्रममा सहभागि भएपछि कता उपचार गर्ने, कति हप्ता सम्मको अनिच्छित गर्भ फाल्न सक्छौं र कसरी हामी सबैको कुरा पनि गोप्य रहने रहेछ भनेर पनि थाहा पाएको सायल गाउँपालिका वडा नम्बर ६ की सितादेवी साउँदको भनाई रहेको छ । सोहि ठाउँ की इसरा देवी साउँदले पनि आफ्नो अनुभव सुनाउदै भनिन्- ‘पहिले त हामीलाई यस्ता कार्यक्रम भनेका पुरुषहरुका लगि मात्रै हो र उनीहरु मात्रै सहभागि हुनुपर्छ जस्तो लाग्थ्यो तर अहिले त पढेलेखेका मात्र नभई सबै कार्यक्रममा जान्छौं लेख्न नजाने पनि सुनेरै भए पनि केही कुरा बुझेर आउँछौ ।’

यस्तै वडा नम्बर ६ कै ६० वर्षिय गोरख नागरीले पनि गर्भपतनका बारेमा खुलेर कुरा गर्दै आफ्नो पालामा त यस्ता कुरा केही पनि थाहा थिएन, सोझासाझा थिए, पेटमा बच्चा बसेका सबै जन्मीन्थे, यदि कसैको अबैध बच्चा बस्यो भने जडिबुटीको प्रयोग गरेर, घरेलु सामग्रीहरुको प्रयोग गरेर फाल्ने गरिन्थ्यो त्यस्तो अवस्थामा कसैको बच्चा र आमाको त ज्यानै जाने गरेको बताए । अहिले त सुरक्षित गर्भपतन बारे छिमेकी तथा रेडियोबाट सुनेर पनि धेरै कुरा थाहा पाएको नागरीले बताए ।
प्रजनन स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरुले समाजमा रहेका अन्धविश्वास, कुरिति हटाउनका लागि महत्वपूणर् भुमिका खेलि रहेको स्थानीय अमरबहादुर खड्काको भनाई छ । पहिले समुदायमा विभिन्न किसिमका हेयभाव र लाञ्छना हुने गर्दथे त्यस्ता हेयभाव र लाञ्छनाको डरले पनि आफुलाई बच्चा आवश्यक नभए पनि बच्चा जन्माउनै पर्ने बाध्यता हुन्थ्यो तर यो कार्यक्रम लागु भए पश्चात भने धेरैमा परिर्वतन आएको खड्काले बताए ।
पहिले ग्रामीण भेगका महिलाहरुले यो सेवा निःशुल्क छ भन्ने थाहा नहुँदा महङ्गो पैंसा तिरेर भए पनि निजि क्लिनिक र मेडिकल जान वाध्य थिए, सेवामा पहँचु पुगाउन सामुदायिक संबाद बैठकले अझ सहयोग गरेको आमा समुहकी सदस्य भागरती धामीले बताईन । ‘पहिले त हामीलाई नै थाहा थिएन तर यो बैठकले जिल्लामा २९ वटा स्वास्थ्यमा निःशुल्क सेवा दिदै आएको कुरा थाहा भयो, ९ हप्ता सम्मको सुरक्षित गर्भपतन हाम्रै गाउँको स्वास्थ्य संस्थामा हुने र १२ हप्ता सम्मको जिल्ला अस्पतालबाट हुने भएपछि महिलाहरुलाई सहज भएको छ ।’
पहिले यो सेवा हाम्रो स्वास्थ्य चौकीमा नहुँदा मैले नै नचाएको गर्भ फाल्नका लागि घरेलु उपाय भन्दै दुईमाना चुक खाएको र त्यति गर्दा पनि गर्भपतन नहँुदा ६ हजार खर्च गरेर गर्भ फालेको सायल २ की धौली देबी बोहराले बताईन । बच्चाको रहर पुगी सकेकाले गर्भपतन गर्न चाहेको तर गाउँमा त्यो सेवा नहुदा आफुले दुःख पाएको उनको भनाई छ । अब त गाउँठाउँमै यो सेवा पाउने भएपछि सुरक्षित गर्भपतन गराउन चाहने महिला दिदीबहिनीहरुले सहजै सेवा लिई रहेको उनी बताउछिन् ।

पहिले जिल्लामा सेवा संचालन नहुँदा धेरै महिला दिदीबहिनीहरुले परम्परागत तरिकाले गर्भपतन गर्ने गदर्थे जस्लेगर्दा ज्यानै जाने खतरा पनि रहन्थ्यो यो सेवा आएदेखि भने यहाँका स्थानीय दिदीबहिनीहरुलाई सेवा लिन सहज भएको दौड स्वास्थ्य चौकीमा कार्यरत अनमी राधिका सिंहको भनाई छ । अनमी सिंहले आफुले २०७२ साल देखि सुरक्षित गर्भपतन सम्बन्धि तालिम लिई सेवा दिरहेको जानकारी दिईन । पहिलो साल सुरक्षित गर्भपतन गराउनेको संख्या ३४ जना थियो । आर्थिक बर्ष २०७३/०७४ मा ६७ जना, आ.ब. २०७४/०७५ मा ८३ जना, २०७५/०७६ मा ८४ जनाले सेवा लिएको उनले बताइन् ।
त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा ६८ जना, २०७७/०७८ मा ८० जना, आ.ब. २०७८/७९ मा ५२ जनाले र आर्थिक वर्ष २०७९/०८० मा ३३ जनाले सेवा लिएको सिंहले जानकारी दिइन् । दौड स्वास्थ्य चौकीबाट हालसम्म पाँच सय एक जनाले यो सेवा लिएको पाइएको छ ।
गर्भपतन सम्बन्धि हेयभाव र लाञ्छना हठाउनका लागि सायल र केआईसिंह गाउँपालिकामा रहेका विभिन्न आमा समुह, स्वयंसेविका र स्थानीय सरोकारवालाहरुसंग छलफल र सम्बाद गर्ने गरेको सामुदायिक विकास मञ्च डोटीकी सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना कार्यक्रम अधिकृत मधु पोखरेलले बताइन् ।
‘चेतना नहुँदा तथा असुरक्षित गर्भ बस्दा यहाँका मान्छे मेकिकलबाट अवैध रुपमा औषधी लगेर प्रयोग गर्छन्’ पोखरेलले भनिन् ‘त्यस्तोखाले औषधीले असर गर्दा अत्याधिक रक्तश्राव भई अस्पताल आउनेको संख्या समेत रहेको छ ।’ ‘कसै कसैको त ज्यानै जानेगरी रगत बगेको हुन्छ ।’ मेरी स्टोभकी स्टाप नर्स लक्ष्मी खड्काले भनिन्, ‘हामीले त्यस्ता जटिल केसमा परामर्श दिन्छौं ।, धेरैजसो विरामीलाई रगतको नै आवश्कता गर्ने गर्दछ ।’ अवैध औषधीको बढ्दो प्रयोग तथा प्रयोग गर्न नजानेर अत्याधिक रगत बग्ने उनले बताइन् ।
यौन तथा प्रजनन् स्वास्थ्यको विषयलाई विशेष प्राथमिकता दिई आवश्यक बजेट ब्यवस्थापन गर्ने, स्वास्थ्य क्षेत्रका लागि आवश्यक नीतिहरु पालिकाले निमाणर् गर्ने, किशोर किशोरीका सवालहरुलाई विशेष प्राथमिकता दिई आवश्यक कार्यक्रमको ब्यवस्थापन गर्ने सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए ।
जिल्लाभरी सुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी
डोटीमा सुरक्षित गर्भपन गराउनेको संख्यामा कमी हुँदै आएको स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कले जनाएको छ । बिगतका बर्षहरुको तुलनामा पछिल्ला दुई बर्ष यता सुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी देखिएको हो ।
जसमा सुरक्षित गर्भपतन गराउने महिलाहरुमा २० बर्ष मुनिका समेत उल्लेख्य संख्यामा रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/०७६ मा जम्मा एक हजार एक सय ४७ जनाले गर्भपतन गराएका छन् । त्यसमा २० बर्ष मुनिका ७० जना छन् भने माथिका एक हजार ७७ जना महिला रहेका छन् ।
त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा एक हजार ३१ जनाले सुरक्षित गर्भपतन गराएका थिए । जसमा २० बर्ष मुनिका ४९ जना थिए । आर्थिक बर्ष २०७७/०७८ मा सुरक्षित गर्भपतन गराउनेको संख एक हजार एक सय १० रहेको थियो । २० बर्ष मुनिका ३५ जना रहेका छन् भने एक हजार ७५ जना २० बर्ष माथिका रहेका छन् ।
यि आर्थिक बर्षहरुमा नेपाल लगायत विश्वका देशहरुमा कोराना भाईरस बढेका कारण कामको सिलसिलामा घर बाहिर गएकाहरु घरमा फर्केका कारण बढी संख्यामा महिलाहरु गर्भवती भएका र सोही रेसियोमा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशी बताए ।
आर्थिक बर्ष २०७८/०७९ मा सुरक्षित गर्भपतन गराउनेको संख्या नौ सय २६ रहेको थियो । जसमा २० बर्ष मुनिका ४० जना रहेका थिए भने बाँकी आठ सय ८६ थिए । त्यसैगरी चालु आर्थिक बर्षको फागुन महिनासम्ममा पाँच सय ५५ को संख्यामा सुरक्षित गर्भपतन गराउने रहेका छन् । जसमा १९ जना २० बर्ष मुनिका रहेका छन् ।
पछिल्ला बर्षहरुमा जिल्लामा सुरक्षित गर्भपतन गराउने सुचिकृत स्वास्थ्य संस्थाहरुको संख्यामा बृद्धि भएका भएपनि सुरक्षित गर्भपतन गराउनेको संख्यामा भने कमी भएको छ । परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढेका कारण पनि गर्भपतन गराउनेको संख्यामा कमी आएको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख जोशी बताउछन् ।









