सिलगढी/नेपाल विद्यार्थी संघ डोटीले ५४ औं स्थापना दिवसको अवसरमा डोटीमा रक्तदान तथा शैलेश्वरी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।
स्थापना दिवसको अवसरमा शैलेश्वरी मन्दिर प्राङ्गणमा एक कार्यक्रमका बिच रक्तदान तथा मन्दिर परिसर सरसरफाई कार्यक्रम गरि दिवसलाई मनाईएको नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बताए ।


औपचारीक कार्यक्रमको अध्यक्ष समेत रहेका सिंहले नेपाल विद्यार्थी संघले जिल्लामा हुने गरेका विभिन्न बेथितीको सवालमा आवाज उठाउनुका साथै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आईरहेको बताए ।
देशमा हुने गरेका हरेक बेथीतिको बिरुद्ध शसक्त रुपमा आवाज उठाउने एक मात्र बलियो संगठन नेपाल विद्यार्थी संघ रहेको नेपाल विद्यार्थी संघका पूर्ब अध्यक्ष एवं नेपाली कांग्रेस डोटीका महाघिबेशन प्रतिनिधि एवं कार्यक्रमका विशिष्ट अथिति राम प्रसाद उपाध्यायले बताए । युवाहरुको लामो प्रयास र संर्घषका बिचमा नेबिसंघको संगठनलाई यहाँसम्म जोगाउन सफल भएका समेत बताए ।

नेपाल विद्यार्थी संघले कसैले नगरेका उदाहरणीय कार्य गर्न आवश्यक रहेको नेपाली कांग्रेस डोटीका उपसभापति एवं कार्यक्रमका प्रमुख अथिति बाजी सिंह खड्काले बताए । उनले भने ‘नेपाल विद्यार्थी संघले जहिले पनि युवा वर्गका सवाल तथा समस्याहरु के छन तिनिहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने तिर ध्यान दिन आवश्यक रहनुको साथै पार्टीले गरेका राम्रा कामको सिको र कमीकमजोरीहरुलाई सुधार गर्न खबरदारी गर्नुपर्ने देखिएको छ ।’ नेविसंघले अन्य विद्यार्थी संगठन माँझ नेतृत्वदायी भूमिकाका साथ अगाडि बढ्नुपर्ने उनले बताए ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेबिसंघले शैलेश्वरी मन्दिर परिसरको सरसफाई गरेका थिए । त्यस्तै ५ जनाले रक्तदान गर्नुका साथै १५ जनाले रक्तसमुह, ३८ जनाले स्वास्थ्य परिक्षण गरेको समेत आयोजकले जनाएको छ । जिल्लामा ब्लड अभाव नभएका कारण रक्तदान गर्न चाहानेहरुले समेत रक्तदान गर्न पाएनन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटी डोटी शाखाले सहयोग गरेको थियो ।









