धनबहादुर बोहरा,
सिलगढी/डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ बालश्रम मुक्त वडा घोषणा भएको छ । यो डोटीको मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै जम्मा सात सय ३४ वडा मध्ये पहिलो बालश्रम मुक्त वडा घोषणा भएको हो ।
सबै प्रक्रिया पुरा गरेर बालश्रम मुक्त वडा घोषणा भएको हो । नगरपालिकालेनै बालश्रम मुक्त नगर बनाउने उद्देश्यले २०७५ देखिनै विभिन्न अभियानहरु संचालन गर्दै आइरहेको थियो । सोही अनुरुप बुधबार वडा नम्बर ५ घोषणा भएको हो ।


घोषणा सभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले बालश्रम मुक्त वडा भएको भन्दै घोषणा गरेका थिए । नेपालको कानुन अनुसार १८ बर्ष मुनीकालाई बालबालिका जनाइएपनि १४ बर्षमुनीका बालबालिकालाई कुनै पनि श्रममा लगाउन पाइदैन । १४-१८ बर्षका बालबालिकाहरुलाई बिहान ६ बजेदेखि बेलुकीको ६ बजेको बिचमा बढीमा ६ घण्टा मात्रै काम गर्न दिइने र काम गर्नको लागि कुनै किसिमको दवाव दिन नपाइने भनिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ मा सात सय ६१ बालिका र छ सय ८४ जना बालक गरी जम्मा एक हजार चार सय ४५ जना बालबालिका रहेका छन् । जसमा वडाभित्रका तीन सय ७२ जना बालबालिकाहरुले पोषण भत्ता पाइरहेका छन् ।
बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियानहरु संचालन गरिएका थिए । श्रमिक बालबालिकाहरुको तथ्याङ्क संकलन गर्नेदेखि बालश्रमिक राख्ने बिरुद्ध खबरदारी समेत गरिएको बताइएको छ । वडाभित्र उद्दार गरिएका श्रमिक बालबालिकाहरुलाई शिक्षण सामग्री सहयोगका साथै आवासीय विद्यालय भर्ना समेत गरिएको थियो ।

वडामा कुपोषित बालबालिका र बाल मृत्यदर रहेको छैन ।, यस वडामा बालबिवाह दर शुन्य रहेको र जन्मदर्ता शतप्रतिसत रहेको वडा अध्यक्ष गणेशबहादुर भण्डारीले जानकारी दिएका छन् । वडामा बालश्रमिक मुक्त घरधुरीहरुमा हरियो झण्डा गाड्ने अभियान समेत संचालन गरिएको अध्यक्ष भण्डारीले बताए ।
बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सिंहले यस वडाले गरेको कामलाई सबै वडाहरुले अनुसरण गर्दै जिल्लाका अन्य वडाहरु समेत बालश्रम मुक्त वडा घोषणा हुनपर्ने बताए ।
दिपायल सिलगढी नगरपालिकामा यनिसेफको सहयोगमा बालश्रम बिरुद्धका विभिन्न अभियानहरु संचालन हुँदै आइरहेका छन् । छिट्टै नगरपालिकाका सबै वडालाई बालश्रम मुक्त वडा घोषणा गरेर नगरपालिकालाईनै बालश्रम मुक्त नगर घोषणा गरिने नगर प्रमुख बाजीसिं खड्काले बताएका छन् ।
हामी जसरी बालश्रम मुक्त वडा घोषणामा सुदूरपश्चिमको पहिलो भएका छौं, त्यसरीनै बालश्रम मुक्त नगर घोषणामा पहिलो हुने नगरप्रमुख खड्काले बताए ।
नेपालमा पछिल्लो तथ्याङ्क अनुसार ५-१७ बर्षका बालबालिकाहरु मध्ये १५.३ प्रतिसत बालबालिका श्रममा लगाइएका छन् ।









