गणेश मौनी
डोटी/आगामी चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको लागि डोटीका विभिन्न क्याम्पसहरुमा पाँच बिद्यार्थी संगठनहरुले मनोनयन दर्ता गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार त्रिभुवन विश्वबिद्यालयको आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरुमा शनिबार २ बजे सम्म मनोनय दर्ता गराइ ५ बजे भित्र उम्मेदवारको नामावली प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको थियो ।

सोही अनुरुप डोटीमा विभिन्न संगठनहरुले दुईवटा क्याम्पसमा आफ्नो मनोनयन दर्ता गरेका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको डोटी बहुमुखी क्याम्पसमा सभापति पदको लागि तिन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले जेनिस बोहराको नेतृत्वमा मनोनयन दर्ता गराएको छ । त्यस्तै नेकपा ऐमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन र माओबादी केन्द्र निकट अखिल कान्तिकारीले संयुक्त रुपमा गठबन्धन गरी अनेरास्वबियुका साझा उम्मेदवार लक्ष्मण बोहराको नेतृत्वमा मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (कान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौले संयुक्त रुपमा गठबन्धन गरि साझा उम्मेदवारको रुपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (कान्तिकारी) का टेकेन्द्र बोगटीको नेतृत्वमा मनोनयन दर्ता गरेका हुन् ।
बडीकेदार गाउँपालिकामा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस बिपीनगरमा नेपाल बिद्यार्थी संघले निर्मल बोहराको नेतृत्वमा मनोनयन दर्ता गरेको छ । त्यस्तै नेकपा एमाले निकट अनेरास्वबियु र माओबादी केन्द्र निकट अखिल कान्तिकारीले संयुक्त रुपमा गठबन्धन गरी अखिल कान्तिकारीका साझा उम्मेदवार सुरेन्द्र साउदको नेतृत्वमा मनोनयन दर्ता गराएका छन् । सो क्याम्पसमा अन्य संगठनले भने मनोनयन दर्ता नगरेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस बिपीनगरले जनाएको छ ।
त्यस्तै दिपायलमा रहेको दिपायल बहुमुखी क्याम्पसमा भने कुनै पनि बिद्यार्थी संगठनले मनोनयन दर्ता गराएका छैनन् । उता आदर्श गाउँपालिकामा रहेको खप्तड आदर्श बहुमुखी क्याम्पसमा समेत कुनै पनि बिद्यार्थी संगठनले मनोनयन गर्दा गराएको छैन् । बिद्यार्थी संगठनहरु बिचको आपसी बिवादका कारण कुनै पनि संगठनले मनोनयन दर्ता नगरेको क्याम्पस प्रमुख मोहन रौतेडाले बताए ।
सुदूरपश्चिम विश्वबिद्यालय अन्तर्गतका क्याम्पसहरुमा भने चैत्र ८ गते निर्वाचनको मिति तोकिएको छ । डोटीमा सेती महाकाली क्याम्पस जोरायल र सिताराम क्याम्पस उच्चाकोट सुदूरपश्चिम विश्वबिद्यालय अन्तर्गतका क्याम्पस हुन् ।









